धनगढी/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली काँग्रेसका नेता नरनारायण शाह (मनु) ले वडा तहमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ उनले धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् ।
आइतबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा एकै चरणमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा नागरिकको उपस्थितिमा रिवन काटेर कार्यालय उद्घाटन गरिएको जनाइएको छ । स्थापना गरिएका सम्पर्क कार्यालयलाई निर्वाचन अवधिभर जनताको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ ।
सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार शाहले निर्वाचनलाई सभ्य, मर्यादित र अनुशासित बनाउनु सबै राजनीतिक दल र उम्मेदवारको साझा दायित्व भएको बताए । उनले चुनावी प्रतिस्पर्धाका नाममा आरोप–प्रत्यारोप, व्यक्तिगत आक्षेप र नकारात्मक प्रचारमा नलाग्न आग्रह गरे । ‘निर्वाचनमा सबैले आचारसंहिता पालना गर्नुपर्छ । सभ्य तरिकाले प्रतिस्पर्धा गरौँ, समाजलाई विभाजन गर्ने खालका गतिविधि नगरी सकारात्मक एजेन्डाका साथ जनतामाझ जाऔँ,’ उनले भने ।

शाहले अरूको आलोचना गर्नुभन्दा आफ्नै दल, संगठन र व्यवहार सुधारमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अरुको आलोचना नगरौँ । आफ्नो व्यवहारलाई सभ्य र अनुशासित बनाऔँ । सबै पार्टीलाई बलियो बनाउन लागौँ । यसले नै लोकतन्त्रलाई मजबुत बनाउँछ ।’ उनका अनुसार स्वस्थ प्रतिस्पर्धाले मात्रै राजनीतिक संस्कार सुधार हुन्छ र जनताको विश्वास जित्न सकिन्छ ।
उम्मेदवार शाहले सम्पर्क कार्यालयमार्फत स्थानीय तहका समस्या नजिकबाट बुझ्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र निर्वाचन घोषणापत्रलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । ‘जनताका दैनिकीसँग जोडिएका मुद्दा समाधान नगरी राजनीति सफल हुन सक्दैन । त्यसैले म जनताको घरदैलोमा पुगेर उनीहरूको आवाज सुन्न चाहन्छु,’ उनले स्पष्ट पारे ।
स्थानीय काँग्रेस कार्यकर्ताले पनि सम्पर्क कार्यालय स्थापना भएपछि प्रचार–प्रसारमा थप ऊर्जा मिलेको बताएका छन् । उनीहरूका अनुसार वडा–वडामा कार्यालय हुँदा पार्टीका गतिविधि समन्वय गर्न, मतदातासँग नियमित सम्पर्क राख्न र चुनावी सन्देश प्रवाह गर्न सहज हुनेछ । स्थानीय बासिन्दाले पनि आफ्ना समस्या, गुनासा र सुझाव राख्न सहज वातावरण बनेको प्रतिक्रिया दिएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्र मानिन्छ । यहाँ विभिन्न दलबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । निर्वाचन नजिकिँदै जाँदा शाहले अन्य वडामा पनि सम्पर्क कार्यालय विस्तार गर्ने तयारी रहेको जनाइएको छ । उनले लोकतान्त्रिक मूल्य–मान्यता, आपसी सम्मान र जनसेवाको भावनाका साथ निर्वाचनमा होमिन सबैलाई आग्रह गरेका छन् ।










समाचार 