टिकापुर /टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन वि.क कर्मचारी सरह कार्यालयमै बसेर सेवा प्रवाहमा सक्रिय देखिएका छन्।
बिहान १० बजेदेखि वडा कार्यालयमा सेवाग्राहीको भीड बढ्न थाल्ने गर्दछ। नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्ता लगायतका कामका लागि दैनिक करिब ३०० जना सेवाग्राही कार्यालय पुग्ने गरेका छन्। यस्तो चापका बीच अध्यक्ष बिक स्वयं कम्प्युटरमा डाटा इन्ट्री गर्ने, कागजात जाँच गर्ने तथा सिफारिस तयार पार्ने काममा संलग्न हुने गरेका छन्।

वडा नं. १ मा करिब ४६ हजार जनसंख्या रहेको छ, जुन टीकापुर नगरपालिकाभित्रकै सबैभन्दा बढी हो। सेवाग्राहीको चापलाई मध्यनजर गर्दै सेवा प्रवाहमा ढिलासुस्ती नहोस् भन्ने उद्देश्यले आफूले प्रत्यक्ष रूपमा काम गर्दै आएको अध्यक्ष बिकले बताए।
“जनताले मलाई काम गर्न पठाएका हुन्, केवल राजनीति गर्न होइन,” अध्यक्ष बिकले भने, “त्यसैले म आफैँ कर्मचारीसरह सेवा दिन्छु।” उनका अनुसार आफू कार्यालयमै नियमित रूपमा उपस्थित हुने भएकाले सेवाग्राहीले वडा अध्यक्ष खोज्दै समय खर्च गर्नुपर्दैन। अत्यावश्यक बाहेक आफू कार्यालय बाहिर ननिस्कने उनले जानकारी दिए।
कार्यालयमा कर्मचारी अभाव तथा बढी चापका कारण ढिलाइ हुने अवस्थालाई कम गर्न अध्यक्ष बिकले सिफारिस तयार पार्ने, अनलाइन नागरिकता इन्ट्री गर्ने लगायतका प्राविधिक कामसमेत गर्दै आएका छन्।
यसैबीच, एक सेवाग्राहीले सचिवले पालो कुर्न आग्रह गरेपछि अध्यक्ष बिकले स्वयं बोलाएर तुरुन्तै सिफारिस तयार पारिदिएको अनुभव सुनाए। “वडा अध्यक्षको व्यवहार र सक्रियता देखेर अचम्म लाग्यो,” ती सेवाग्राहीले भने, “यस्तो जनप्रतिनिधि हुँदा जनतालाई सहज हुन्छ।”
अध्यक्ष बिकको कार्यशैलीप्रति स्थानीय तहमा सकारात्मक प्रतिक्रिया देखिएको छ। उनको सक्रियताले सेवा प्रवाहमा सुधार हुनुका साथै जनतामा विश्वास बढाएको स्थानीयले बताएका छन्।




समाचार 