राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै महत्वाकांक्षी प्रतिबद्धतासहित आफ्नो वाचापत्र (घोषणा पत्र) सार्वजनिक गरेको छ। 
घोषणापत्रमा अबको १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य अघि सारिएको छ। साथै ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याइने स्पष्ट प्रतिबद्धता गरिएको छ।

पार्टीले सरकारी कार्यालयमा हुने बिचौलिया प्रवृत्तिको अन्त्य गर्दै सार्वजनिक सेवा प्रणालीलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने जनाएको छ। ‘लाइन होइन, अनलाइन’ अवधारणा लागू गरी सेवा प्रवाहलाई सहज र पारदर्शी बनाइने उल्लेख गरिएको छ। राष्ट्रिय परिचयपत्रलाई एकीकृत सेवा प्रणालीको आधार बनाउँदै सबै सरकारी सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराइने योजना अघि सारिएको छ।
घोषणापत्रमा वि.सं. २०४६ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। भ्रष्टाचारका फाइलहरू खोल्ने र दोषीमाथि कठोर कारबाही गर्ने नीति लिइने पार्टीले जनाएको छ। शिक्षा, स्वास्थ्य तथा सार्वजनिक संस्थानहरूलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने पनि रास्वपाको एजेन्डा रहेको छ।
आर्थिक क्षेत्रतर्फ उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्ने तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई आई–भोटिङ (अनलाइन मतदान) सुनिश्चित गर्ने योजना घोषणापत्रमा समेटिएको छ।
रास्वपाले पारदर्शिता, सुशासन र प्रविधिमा आधारित सेवा प्रणालीमार्फत देशको आर्थिक र प्रशासनिक रूपान्तरण गर्ने लक्ष्यसहित घोषणापत्र सार्वजनिक गरेको जनाएको छ।











समाचार 