१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्णरूपमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो मुलुक अस्ट्रेलिया बनेको छ । यो प्रावधानलाई अभिभावक तथा बाल–अधिकार समर्थकले स्वागत गरेकाछन् । यो कदमलाई प्रविधि कम्पनीहरू र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले भने आलोचना गरेका छन्।
मंगलबार मध्यरातदेखि प्रभावकारी बनेको नयाँ कानुनअनुसार टिकटक, युटयुब, इन्स्टाग्राम र फेसबुकसहित १० प्रमुख प्लेटफर्मलाई १६ वर्षमुनिका प्रयोगकर्ताको पहुँच रोक्न आदेश दिइएको छ । यो आदेश उल्लंघन गरेमा ४ करोड ९५ लाख अस्ट्रेलियन डलर (३करोड ३० लाख अमेरिकी डलर) सम्मको जरिवाना लगाइनेछ । यो नियमलाई विश्वभरका नियामक संस्थाहरूले नजिकबाट हेरिरहेका समाचार सस्था रोयटर्सले जनाएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई ‘परिवारका लागि गर्व गर्न लायक दिन’ भनेर टिप्पणी गरेका छन ।
‘यसले ठूलो परिवर्तन ल्याउनेछ। हाम्रो राष्ट्रले सामना गरेका सबैभन्दा ठूलो सामाजिक तथा सांस्कृतिक रूपान्तरणमध्ये यो एक हो,’ उनले भने। यो गहिरो सुधार हो, जसको प्रभाव विश्वभर प्रतिध्वनित हुनेछ, उनले थपे ।
भिडियो सन्देशमार्फत अल्बानीजले बालबालिकालाई नयाँ खेलकुद सुरु गर्न, नयाँ वाद्यवादन सिक्न वा केही समयदेखि दराजमा थन्किएको किताब पढ्न आह्वान गरेका छन्। अस्ट्रेलियामा यसै महिनादेखि ग्रीष्मकालीन विद्यालय बिदा सुरु हुँदैछ ।










समाचार 