सत्ति / लगातारकाे वर्षाले कैलालीकाे विभिन्न स्थानमा बाढी आएको छ । वर्षाले कैलालीमा रहेका नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा बाढी तथा डुवानको जोखिम बढेको हो ।
दिउँसो कर्णालि नदीमा बाढीले खतराको तह पार गरेको थियो । कर्णाली नदीमा ११ मिटर १५ सेन्टिमिटर पुगेको पानी अहिले वर्षा रोकिएपछि १० मिटर ६७ सेन्टिमिटरमा झरेको छ । नदीमा पानी बढेकाले जोखिम क्षेत्रका नागरिक लाई सर्तक रहन, सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । यहाँको जोखिम क्षेत्रको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले निरीक्षण समेत गरेका छन् । लगातारको वर्षापछि बाढी आउँदा कैलालीमा सयौँ परिवार विस्थापित भएका छन् ।
बाढीले टीकापुरमा करिब डेढ सय परिवार विस्थापित भएका छन् । वडा नं. ७ सत्ती कर्णाली सामुदायिक वनबाट नदी वनगाउँमा पस्दा त्यहाँका ५० घरमा पानी पसेको छ भने हुलाकी सडकमा बन्दै गरेको पक्की नालिमा पनि क्षति पुगेको छ । वडा नं. ६ मा पथरैया नदी बस्तीमा पसेपछि सय बढी घर डुबानमा परेका छन् ।
कर्णालि नदीमा बाढीको बहाव खतरा तहमा पुगे पछि टीकापुरमा थप जोखिम बढेको छ । वडा नं. ५ को दौतलपुर घाट नजिक कणालि नदीले कटान तिब्र पारेकाले वडा नंं ५, ६, ७ र ८ वडा विस्थापित हुने जोखिम बढेको छ ।
नदी कटान नरोकिए बस्ती खतरामा हुने भएकाले टीकापुर नगरपालिका, रानी जमरा कुलरिया सिँचाइ आयोजना, प्रहरी मिलेर अस्थायी तटबन्धको काम भैरहेको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिइन् ।