धनगढी / जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारूले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिए पछि कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार थारूले केही समयअघि उम्मेदवारी फिर्ता लिएकी हुन् ।
‘बुधवार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेकोमा नागरिक उन्मुक्तिकी थारु ले फिर्ता लिएकी छिन्,’ उनले भने ।
बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगरप्रमुख रामलाल डङ्गौरा, काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताको उपस्थितिमा रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी हुन् ।
समन्वय प्रमुखमा निर्विरोध भएकी भुल कैलारी गाउँपालिका –२ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन् । एमालेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी थिइन् ।
कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो ।