टिकापुर– कैलालीको जानकि गाउँपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको यात्रामा पठाएको छ । पालिकाले विनियोजन गरेको वार्षिक बजेट तथा कार्यपालिकाको निर्णय अनुसार पालिका भित्रका ज्येष्ठ नागरिकलाई भ्रमण अवलोकनमा पठाएको हो ।
गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख हिरालाल चाैधरिका अनुसार पालिकाले गत वर्ष देखि यो अभियानकाे थालनी गरेको छ । गत वर्षको पहिलो भ्रमण अभियानमा सबै वडाबाट ४० जना ज्येष्ठ नागरिकलाई दाङको चखाैरा भ्रमण अवलोकनमा पठाएको थियो ।
‘ज्येष्ठ नागरिकले भ्रमण अवलोकनबाट बाहिरी दुनियाँलाई बुझ्ने अवसर प्राप्तिका रूपमा लिनेछन्, यो भ्रमणले बुढेसकालको मानसिक तनावलाई हटाउन सघाउ पुर्याउने छ, शाखा प्रमुख चाैधरिले ले भने ।’ पालिकाले सुरु गरेको भ्रमण अभियानमा ज्येष्ठ नागरिकले देखाएको इच्छा अनुसार नै भ्रमण अवलोकनमा सहभागी गराएर पठाइएको गाउँपालिकाले बताएको छ ।
पालिकाबाट भ्रमण अवलोकनमा जाने ज्येष्ठ नागरिकलाई यसवर्ष सुर्खेतको देउति बज्यै मन्दिर ,काँक्रेविहार, बुलबुले ताल, शिवालय , सहिद पार्क लगायतका पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलको अवलोकन गराइने भएको छ ।
गाउँपालिकाले सुरु गरेको यो अभियानले भ्रमण अवलोकनमा जाने ज्येष्ठ नागरिकमा उत्साह छाएको छ भने साे भ्रमण टोलीमा ज्येष्ठ नागरिकको स्वास्थ्यकाे ख्याल गर्दै प्राथमिक उपचारको व्यवस्था सहित ३ जना स्वास्थ्यकर्मीलाई पनि खटाइएको बताइएको छ ।
यस भ्रमण अवलोकन अभियान अब देखि हरेक वर्ष निरन्तर चल्ने बताइएको छ । जानकि गाउँपालिकाले यसै वर्ष देखि पालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र जनप्रतिनिधिलाई समेटेर नमुना विद्यालयको शैक्षिक भ्रमणमा पनि पठाएको छ ।