टिकापुर / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर विद्रोह थारु समुदायको अधिकारका लागि भएको बताएका छन् ।
टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘टीकापुर थारु विद्रोह थारुहरुको अधिकारका लागि भएको हो,’ उनले भने, ‘म त्यसको सम्मान गर्न चाहन्छुु ।’
प्रचण्डले रेशम चौधरीलाई जोखिम उठाएर जेलबाट छुटाएको दाबी पनि गरे । ‘टीकापुर घटनामा थुप्रै जालझेल भएको मलाई थाह छ,’ उनले भने, ‘थारुको बच्चा हो छुटाउनुपर्छ भनेर रेशम चौधरीलाई जोखिम उठाएर छुटाएको हुँ । तर, अहिले रेशम कताकता छन् । रेशमले पनि माओवादीमै आउनु उचित हुन्छ ।’
अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरुद्ध अभियान सुरु गर्दा माओवादीलाई सरकारबाट बाहिर राखिएको बताउँदै भने, ‘त्यो अभियानले जनतामा आशा जगाउँदै गएको थियो तर, हामीलाई सरकारबाट बाहिर पारियो । बाहिर आए पनि सुशासन, सामाजिक न्याय र विकासको मुद्धा जनतामा ल्याएर आएका छौं ।