फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता सुरु भएको छ । बिहान १० बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।![]()
आयोगले दल र उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताको समय तोकिदिएर मनोनयन दर्ताका लागि आउन भनेको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताका साथै १० किसिमका कागजात आवश्यक पर्दछ ।
उम्मेदवारी दर्ता गर्दा मतदाता नामावली ऐन २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता २०८२ बमोजिमका कागजात चाहिन्छ ।

सूचना अधिकारी घिमिरेका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारको नाम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको निस्सा आवश्यक हुनेछ ।
यदि उम्मेदवार सरकार वा सरकारी स्वामित्वको संस्थामा बहाल छन् भने, सो पदबाट राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ । प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गर्ने भए, प्रतिनिधि तोकेको फारम अनिवार्य छ ।
प्रचलित कानुन अनुसार योग्यता पुगेको उम्मेदवारले मनोनयन दर्ता गर्दा सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र हस्ताक्षर सहितको मनोनयन पत्र पेस गर्नुपर्नेछ ।
दलको तर्फबाट उम्मेदवारी दिएको भए, दलको केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको औपचारिक मनोनयन पत्र अनिवार्य हुन्छ र संयुक्त दलको हकमा छुट्टै ढाँचाको पत्र आवश्यक हुनेछ । उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ तर महिला, दलित, अल्पसंख्यक वा आर्थिकरूपमा विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट हुनेछ । आर्थिक रूपमा विपन्नको हकमा सम्बन्धित स्थानीय तहले दिएको सिफारिस पत्र आवश्यक हुन्छ ।
उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको स्वघोषणा पत्र पेस गर्नुपर्नेछ । उम्मेदवारले आफ्नो चलअचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र र ऋण/उधारो समेतको सम्पूर्ण विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ । उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको वैयक्तिक विवरण फाराम अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायवाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछपौट भएको प्रमाण पेस गर्नुपर्नेछ । लेखा परीक्षणबाट उम्मेदवारको नाममा बेरुजु कायम भए सो बेरुजु फछौट प्रमाण आवश्यक हुनेछ । उम्मेदवारले निर्वाचन आचारसंहिता २०८२ अनुसारको प्रतिबद्धता पत्र पनि पेस गर्नुपर्नेछ । यी सबै कागजात पूरा भए उम्मेदवारी दर्ता मान्य हुनेछ ।
उम्मेदवारी दिन चाहनेले सबैले समयमै कागजात तयारी गर्न र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
सूचना अधिकारी घिमिरेका अनुसार निर्वाचन आयोगको वेबसाइटमै आवश्यक फारम राखिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि आज १६५ वटै निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभाका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ ।










समाचार 