लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुरमा बसको ठक्करबाट एकजनाको मृत्यु पछि तनाव: आफन्तले टायर बालेर गरे प्रदर्शन

टीकापुरमा मंगलबार बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि सडक अवरुद्ध गरेका छन्।

पीडित पक्षले ३० लाख रुपैयाँ क्षतिपूर्ति नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै बजारका मुख्य चोकहरूमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण टीकापुरको जनजीवन प्रभावित बनेको छ।

हिजो इलाका प्रहरी कार्यालय टीकापुर नजिकै सुप प्र ०१-००१-ख ३५८३ नम्बरको बसले ठक्कर दिँदा टीकापुर नगरपालिका-६, मिलनपुर शिविरका ४५ वर्षीय अतवारी चौधरीको मृत्यु भएको थियो।

बसपार्कबाट बजारतर्फ साइकलमा जाँदै गरेका उनलाई बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मृतक चौधरी काठको काम गर्ने मिस्त्री थिए। चालकको लापरबाहीका कारण आफ्नो परिवारको सदस्यले ज्यान गुमाएको भन्दै आफन्तहरूले क्षतिपूर्तिको माग राखेका छन्।

मिलनपुरका बडघर (सामुदायिक अगुवा) धनिराम चौधरीका अनुसार मृतकका बालबच्चाको भविष्य सुनिश्चितताका लागि ३० लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको हो। तर, बस व्यवसायीले बीमाबाट प्राप्त हुने ७ लाख रुपैयाँ मात्र दिन सक्ने बताएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए।

‘घरबाट काम गर्न निस्किएको मजदुरी गरेर खाने मान्छेलाई चालकको लापरवाहीले मार्यो,’ बडघर चौधरीले भने, ‘उसको बालबच्चाका लागि क्षतिपूर्ति नदिएसम्म हामी सडक अवरुद्ध गर्छौं। व्यवसायीले बीमाको ७ लाख मात्रै दिन्छौं भनेपछि हामी आन्दोलनमा उत्रिएका हौं।’

आक्रोशित आफन्तहरूले टीकापुरको मुख्य बजार, जमरा पुल र इलाका प्रहरी कार्यालय अगाडि सडक अवरुद्ध पारेका छन्। सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार टीकापुर-६ कै २५ वर्षीय राजु चौधरी पनि घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, डीएसपी नवीनराजा बुढाथोकीले घटनालगत्तै बस र चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए।

‘प्रहरीले आफ्नोतर्फबाट कानुनी कारबाही सुरु गरिसकेको छ,’ डीएसपी बुढाथोकीले भने, ‘क्षतिपूर्तिको विषय बस व्यवसायी र मृतकका आफन्तबीचको छलफलको कुरा हो, यसबारे हामीलाई औपचारिक जानकारी छैन।’

सडक अवरुद्ध हुँदा टीकापुरबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार क्षेत्र पनि प्रभावित बनेको छ।


प्रकाशित : २०८२ श्रावण २८ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप