कैलालीको टीकापुर नगरपालिकामा कार्यवाहक नगर प्रमुख तोक्ने विषयमा कार्यपालिका बैठक आह्वान गरिएको छ। 
कार्यवाहक नगर प्रमुख नियुक्तिका लागि कार्यपालिकाका बहुमत सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई लिखित पत्र बुझाएका थिए। बहुमत सदस्यको हस्ताक्षर सहित बैठक बोलाउन माग भएपछि प्रमुख प्रशासकीय अधिकृत धितालले शनिबार बिहान ८ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।
बैठक आह्वानका लागि गरिएको पत्राचारमा नेपाली कांग्रेसका पाँच जना तथा नेकपा (एमाले) का एक जना कार्यपालिका सदस्यले हस्ताक्षर गरेका छन्। त्यसैगरी नेकपाका दीपक निशानी, मञ्जु विक र लबरी चौधरीले पनि बैठक बोलाउनुपर्ने मागसहित पत्रमा हस्ताक्षर गरेका छन्। बहुमत सदस्यहरूको पहलमा अब कार्यवाहक नगर प्रमुख तोक्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

गत महिना नगर प्रमुखले राजीनामा दिएपछि नगरपालिकामा नेतृत्व रिक्त रहँदै आएको छ। लामो समयदेखि नगर प्रमुख नहुँदा दैनिक प्रशासनिक कामकाज प्रभावित भएको छ भने मिर्गौला तथा अन्य दीर्घरोगका बिरामीसहित टीकापुरवासीले विभिन्न सेवा लिन समस्या भोग्दै आएका छन्।
नगर नेतृत्वको टुंगो नलाग्दा विकास निर्माणका काम, सेवा प्रवाह र नीतिगत निर्णय प्रक्रियामा ढिलाइ भइरहेको स्थानीयको गुनासो छ। शनिबार बोलाइएको कार्यपालिका बैठकबाट कार्यवाहक नगर प्रमुख तोक्ने विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।











समाचार 