लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

“हामी आफूलाई सधैं अन्त्यमा किन राख्छौं ?” : अस्मिता आचार्य

हामीले आफूलाई अन्त्यमा राख्न कसैले आदेश दिएको थिएन। यो त बिस्तारै सिकाइएको संस्कार थियो I अत्यन्तै शान्त, अत्यन्तै सामान्य देखिने, तर गहिरो असर पार्ने। सानो हुँदा हामीलाई भनियो, पहिले अरूलाई बुझ। अलि ठूला भएपछि भनियो, आफूलाई सम्हाल। अनि समयसँगै हामीले बुझ्यौं आफ्नो चाहना सधैं अलि बढी हुन्छ, त्यसैले त्यसलाई दबाउनु नै ठीक।

त्यसपछि हामीले आफ्ना चाहनाहरूलाई आवाज होइन, अनुमति खोज्न लगायौं। हामीले मनका कुराहरू बोल्नु अघि धेरै पटक सोच्यौं “यो आवश्यक छ कि छैन?” “ यसले कसैलाई दुखाउँछ कि?” “यो भन्नु ठीक देखिन्छ कि देखिँदैन?” यति धेरै प्रश्नको भारी बोक्दा बोक्दै, धेरै कुरा मनमै थन्किए। र बिस्तारै, हामी आफैंसँग बोल्न छोड्यौं।

हामीले अरूको थकान चाँडै देख्यौं, तर आफ्नै थकानलाई सधैं टार्यौं। हामी अरूको दुखमा संवेदनशील भयौं, तर आफ्नै पीडामा कठोर। हामीले आफ्नो दुखलाई वैध ठान्न कहिल्यै सिकेनौं। किनकि हामीलाई लाग्यो अरूले अझ बढी सहिरहेका छन्, त्यसैले हामीले चुप लाग्नु पर्छ।

यही चुप्पीले हामीलाई बलियो देखायो, तर भित्रभित्रै खोक्रो बनायो। हामी जिम्मेवार देखियौं, तर थाकेका थियौं। हामी बुझ्ने देखियौं, तर भत्किरहेका थियौं। हामीले समाजको सिद्धान्तका आधारमा आफूलाई सच्च्याई राख्यौं र ठिक बनाइरह्यौं तर त्यो ठीकपन हाम्रो आफ्नै परिभाषामा थिएन।

सबैभन्दा खतरनाक कुरा के हो भने, यो आत्मत्याग एकदिन पहिचान बन्छ। हामीलाई अरूको ख्याल राख्ने मान्छे भनेर चिनिन्छ, तर कसैले सोध्दैन हामीलाई कसले ख्याल राख्छ? हामी सधैं उपलब्ध हुन्छौं, तर आफ्नै लागि कहिल्यै उपस्थित हुँदैनौं। हामीलाई लाग्छ, यही नै राम्रो मान्छे हुनु हो। तर राम्रो मान्छे बन्ने यात्रामा, हामी आफ्नै मान्छे हुन बिर्सिन्छौं।

कहिलेकाहीँ राति एक्लै हुँदा एउटा प्रश्न मनमा आउँछ “यदि यति धेरै सम्झौता नगरेको भए, मेरो जीवन कस्तो हुन्थ्यो?” यदि मैले अलि चाँडै ‘होइन’ भन्न सिकेको भए, के म यति थाकेको हुन्थें ? तर बिहान फेरि उठेर, हामी त्यही पुरानै बानीमा फर्किन्छौं। किनकि बानी बदल्नु भन्दा सहनु सजिलो लाग्छ।

तर सत्य के हो भने आफूलाई सधैं अन्त्यमा राख्नेहरूले अन्त्यमा आफैंलाई हराउँछन्। र आफूलाई हराउनु कुनै ठूलो विस्फोट होइन, कुनै चर्को दुर्घटना होइन। यो त सानो–सानो बेवास्ताको लामो प्रक्रिया हो।

सायद अब एउटा कुरा स्वीकार्ने समय आएको छ; आफूलाई पहिलो राख्नु स्वार्थ होइन, आत्म-सम्मान हो। आफ्ना सीमाहरू बनाउनु निर्दयता होइन, आवश्यक सुरक्षा हो। आफूलाई सुन्न सिक्नु कमजोरी होइन, बाँच्नको आधार हो।

किनकि जब हामी आफैंलाई सम्मान गर्न थाल्छौं, तब मात्र अरूलाई साँचो अर्थमा माया दिन सक्छौं। नत्र हामी केवल रित्तिएको मनबाट दिएको दायित्व बाँडिरहेका हुन्छौं।

अब प्रश्न तपाईंहरूलाई : हामी सधैं अन्त्यमा बसिरहने कि आफूलाई पनि आफ्नो जीवनको केन्द्रमा राख्ने ?
✍🏻 अस्मिता आचार्य


प्रकाशित : २०८२ पुष १८ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप