बाँडे सुख र दुःख स्वच्छ मनले सन्तोष भेटिन्छ हो
दुइ हात जोडेर अञ्जुली भरे क्यै प्यास मेटिन्छ हो ।
दुइटा पंख चले मिली गगनमा हुइकिन्छ सानन्दले
देखिन्छन् कतिका कति जगतमा गन्तव्य आनन्दले

बोल्दा कुञ्जभरि चरी थरी–थरी मीठामीठा चिर्बिरी
उर्लिन्छन् अनि मात्र मस्त रसिला संगीतका माधुरी
कस्तो सुन्दर प्वाँख राष्ट्रिय चरा भेटें बहुरङ्ग यो
एक्लो निर्जन शुन्य शुन्य पथमा यात्री रमाउँछ को ?
मान्छे आऊ वसन्त झैं, ‘कुहूँकुहूँ’ बाँडेर आफ्नोपन
साझा हुन् धरणी सबै मनुजकी के निम्ति टाढापन
हाँसी खुशी बिताऔं दुई दिनको यो जिन्दगी फूल झैं ।
बग्नु पर्दछ जीन्दगानी जगमा यो प्रेमको मूल झैं
एउटै गोरसले अनुपम मीठो बन्दैन पञ्चामृत
एउटै सुर अलापी सप्तसुरको मर्दैन हाम्रो धीत
एउटै रङ्ग घुलेर इन्द्रधनुको झल्किन्न दिव्य छटा
मान्छे आज अबुझ झैं भन तिमी एक्लेर जाने कता ?
स्व.फणेन्द्रराज रेग्मी (नि. प्राचार्य)
वीरेन्द्र विद्यामन्दिर, टीकापुर,कैलाली










समाचार 