नारायणपुर / सहकारी संस्थाको प्रभावकारी सञ्चालन, पारदर्शिता तथा सदस्यमुखी सेवामा सुधार ल्याउने उद्देश्यले एक दिने सहकारी व्यवस्थापन सम्बन्धि तालिम नारायणपुरमा सम्पन्न भएको छ ।
टिकापुर ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारीको आयोजनामा आइतबार भएको साे तालिममा सहकारी संस्थाका पदाधिकारी, कर्मचारी , बजार प्रतिनिधि ,विभिन्न उपसमिति ,लेखा तथा सुपरिवेक्षण समिति तथा सक्रिय शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारीको सुशासन, वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण प्रणाली, नेतृत्व विकास तथा सदस्यहरूको दायित्व र अधिकारका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमका प्रशिक्षक रहेका डिभिजन सहकारी कार्यालय धनगढीका रजिस्ट्रार माेहनदेव अवस्थिले सहकारी संस्थालाई दिगो, विश्वसनीय, पारदर्शी व्यवस्थापन र उत्तरदायी नेतृत्व आवश्यक रहेको बताएका थिए । उनले सहकारीको मूल मर्म अनुसार सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
तालिमका अर्का प्रशिक्षक तथा भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका कानुन अधिकृत राजकुमार झाले सहकारी सञ्चालन सम्बन्धि व्यवहारिक ज्ञान ,सञ्चालक,लेखा समिति , कर्मचारीकाे भुमिका ,संघीय सहकारी ऐन २०७४ र सहकारीका मुल्य र मान्यता ,सहकारीकाे सिद्धान्तका बारेमा सैद्धान्तिक विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागी कर्मचारी रञ्जन चाैधरिले तालिममा आगामी दिनमा सिकेका कुरालाई संस्थागत सुधार र सदस्य सेवामा प्रयोग गर्नका लागि प्रभावकारी हुने बताए ।
सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले सहकारीलाई थप सुदृढ ,शेयर सदस्य का हितमा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।



समाचार
