लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीहरूका लागि राहत मिल्ने गरी यातायात व्यवस्था कार्यालय धनगढीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य सुरु गरेको छ।
सरकारले गत चैतमा ट्रायल पास भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट गरेर उपलब्ध गराउने घोषणा गरेपछि अहिले देशभर वितरण प्रक्रिया तीव्र बनेको छ। सोही अनुसार धनगढीमा पनि आजबाट लाइसेन्स वितरण सुरु गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी सुरेश ओखेडाका अनुसार यातायात व्यवस्था विभागले धनगढी कार्यालयमा ३१ हजार ७८० जनाको लाइसेन्स प्रिन्ट गरी पठाएको छ। जसमा २०७८ साल पुसदेखि २०८१ साल चैतसम्मका ३१ हजार ५८५ जना र २०८३ साल वैशाख ४ गतेदेखि ७ गतेसम्म ट्रायल पास गरेका १९५ जना समावेश छन्।
कार्यालयले सेवाग्राहीहरूलाई राजश्व बुझाएको भौचर वा निस्सासहित उपस्थित भई लाइसेन्स बुझ्न अनुरोध गरेको छ। साथै, लाइसेन्स कार्यालयमा आइपुगेको वा नआएको जानकारी लिन कार्यालयको फेसबुक पेज हेरेर मात्र आउन पनि आग्रह गरिएको छ।



समाचार
