धनगढीस्थित मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालय परिसरबाट १२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार दिउँसो करिब २ बजे विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मालपोत कार्यालयबाट ६ जना र यातायात व्यवस्था कार्यालयबाट थप ६ जना गरी कुल १२ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरू लेखापढी (डोकुमेन्ट तयार गर्ने) कार्यमा संलग्न भए पनि सम्बन्धित निकायबाट आवश्यक लाइसेन्स नलिएको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रवक्ता तिमिल्सिनाका अनुसार कार्यालय परिसरमै अवैध रूपमा लेखापढी सेवा प्रदान गर्दै सर्वसाधारणबाट रकम असुल्ने गतिविधि भइरहेको भन्ने गुनासोका आधारमा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा अनधिकृत रूपमा सेवा दिइरहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
हाल पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक सोधपुछ भइरहेको छ। उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको र कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्न नहुन र कुनै पनि सेवा लिँदा आधिकारिक तथा लाइसेन्स प्राप्त व्यक्तिमार्फत मात्र काम गराउन सर्वसाधारणलाई प्रहरीले अनुरोध समेत गरेको छ।




समाचार 