कैलालीको सीमावर्ती क्षेत्र खक्रौलामा सशस्त्र प्रहरी बलले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको सामानसहित एक अटो नियन्त्रणमा लिएको छ। 
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३४ गणअन्तर्गत सीमा सुरक्षा गुल्म खक्रौलाले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
गुल्मपति देवराज बिष्टको कमान्डमा खटिएको टोलीले दिउँसो करिब १ बजे शंकास्पद अवस्थामा रहेको से १ च १५८० नम्बरको रातो रंगको अटोलाई जाँच गरेको थियो। जाँचका क्रममा अटोभित्र अत्यन्तै योजनाबद्ध ढंगले लुकाइछिपाइ राखिएको भन्सार छलीको सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तस्करीमा संलग्न व्यक्तिहरूले अटोको सिटमुनि विशेष रूपमा फलाम वेल्डिङ गरी गोप्य कोठा (च्याम्बर) तयार पारेका थिए। सोही स्थानमा हार्डवेयर तथा किराना सामग्री लुकाएर नेपाल भित्र्याउने प्रयास गरिएको देखिएको छ। बाहिरबाट सामान्य यात्रुवाहक अटो जस्तो देखिने भए पनि भित्र तस्करीका लागि विशेष संरचना बनाइएको पाइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको हार्डवेयर तथा किराना सामग्रीको अनुमानित मूल्य ७ लाख १६ हजार ७ सय ३५ रुपैयाँ रहेको छ। सामान ओसारपसारमा प्रयोग गरिएको अटोसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ गरिएको सामान र अटो आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ। पछिल्लो समय तस्करहरूले नयाँ–नयाँ तरिका अपनाएर सामान ओसारपसार गर्ने प्रयास गरिरहेका बेला खक्रौलामा गरिएको यो बरामदीलाई सुरक्षा निकायले महत्वपूर्ण सफलताका रूपमा लिएको छ।



समाचार
