रसुवा, जलवायु परिवर्तनका असर न्युनीकरण र वन क्षेत्रको दिगो संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले जुरिस्डिक्सनल रेडप्लस उत्सर्जन न्यूनीकरण सम्बन्धि गाउँपालिका स्तरिय १ दिने सचेतना तथा अन्तर्क्रिया कार्यक्रम ३ वटा गाउँपालिकामा सम्पन्न भयाे । 
उत्तरगया, कालिका र नाैकुण्डमा सम्पन्न भएकाे हाे । सामुदायिक वन उपभाेक्ता समुह, आदिवासी जनजाति महासंघ, अपाङता भएका, दलित, महिला तथा जनप्रतिनिधि तथा गाउँपालिका वन तथा वातावरण शाखाका प्रमुख, पत्रकारहरूलगायत सहभागी थिए । कार्यक्रममा सहजकर्ताहरू बिनाेद सापकाेटा र कमला पाेखरेलले सहजिकरण गरेका थिए । सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे समन्वयमा भएकाे थियाे ।
रेडप्लस कार्यक्रमको महत्व, उद्देश्य र स्थानीय तहमा यसको कार्यान्वयनका पक्षहरूबारे विस्तृत जानकारी दिंदै रेडप्लस अवधारणा, नेपालमा रेडप्लससँग सम्बन्धित संरचना र आदिवासी जनजाति तथा स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा विशेष जोड् दिइएको थियो ।
यस कार्यक्रममा सहभागी सरोकारवाला निकाय र समुदायका प्रतिनिधिहरूले वन संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको भूमिकाबारे आफ्नो धारणा र सुझावहरू प्रस्तुत गरेका थिए ।
रेडप्लस (REDD+) कार्यक्रमले वन विनाश र क्षयिकरण न्यूनीकरण, वनको दिगो व्यवस्थापन र कार्बन उत्सर्जन घटाउँदै जलवायु सन्तुलन कायम गर्न सहयोग पुर्याउने उद्देश्य राखेकाे सहजकर्ता तथा फेकाेफाेन बागमती प्रदेशका अध्यक्ष बिनाेद सापकाेटाले जानकारी दिए । कालिका गाउँपालिका- ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्याैपाने, नाैकुण्ड गाउँपालिका- ३ का वडा अध्यक्ष नाेकेन्द्रदेव माेक्तान, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ , विस्वास नेपाली, बलराम घिमिरे, फेकाेफाेन स्थानीय महासंघ उत्तरगयाका अध्यक्ष उत्तम घले, नाैकुण्डका अध्यक्ष शारदा गुरूङलगायतका सहभागीहरूले अहिलेकाे जल्दाे बल्दाे र नयाँ विषयमा जानकारी भएकाे बताए ।
सो अवसरमा जलवायु परिवर्तन, वन विनाश र क्षयीकरणका कारणहरू, रेडप्लस (REDD+)कार्यक्रम, तथा लिफ कार्यक्रम (LEAF) अन्तर्गत लाभ वितरण प्रक्रिया जस्ता विषयहरूमा गहन छलफल गरिएको थियो।
रेडप्लस कार्यक्रमको उद्देश्य, कार्यान्वयनको चरण, वन संरक्षणको भूमिकासँगै कार्वन व्यापार र लाभांश वितरणको विषयमा विस्तृत जानकारी गरिएको थियो । सो अवसरमा सहभागीहरुका बीच वन संरक्षणको भूमिकासँगै पालिका स्तरमा वनको दिगोपना, वातावरणीय सचेतना र जलवायु प्रतिरोधात्मक विकास योजनाको विषयमा ३ वटै गाउँपालिकामा छलफल गरिए सहजकर्ता कमला पाेखरेलले बताइन् ।



समाचार
