टीकापुर । कैलालीको चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको घटनामा पीडित धनादेवी धामीको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ । वन अतिक्रमण हटाउने क्रममा भएको उक्त घटनापछि उत्पन्न विवाद क्षतिपूर्ति दिएर मिलाइएको हो ।
वन कार्यालयका कर्मचारीहरूले आपसमा रकम संकलन गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएका हुन् । अत्तरियास्थित मालाखेती प्रहरी चौकीमा भएको छलफलपछि रकम बुझेको धनादेवीका श्रीमान् घनश्याम धामीले बताए । क्षतिपूर्ति पाएपछि वन कर्मचारीविरुद्ध दर्ता गरिएको जाहेरी फिर्ता लिने सहमति समेत भएको छ ।
गत जेठ २९ गते वन क्षेत्रमा व्यापार गरेको आरोपमा वन कर्मचारीले धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर खसालेका थिए । घटनाको भिडियो सार्वजनिक भएपछि देशभर चर्चा भएको थियो । घटनापछि पक्राउ परेका १२ कर्मचारीमध्ये १० जना रिहा भइसकेका छन् भने मुख्य दोषी ठहरिएका दुई जनाविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



समाचार
