मञ्जु विक,सत्ति / लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने टिकापुरस्थित कर्णाली सत्तिघाट पुलमा नेपाली राष्ट्रिय झण्डा लगाइएको छ।
सो झण्डा टिकापुर नगरपालिका वडा नं. ७ सत्तिका युवा व्यवसायी कृतबहादुर ठकुल्लाको पहलमा लगाइएको हो। उक्त पुल कैलाली र बर्दिया जिल्ला मात्र नभई दुई प्रदेश जोड्ने महत्वपूर्ण पुल भएकाले यसको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले पुलको दायाँ–बायाँ गरी २८ वटा राष्ट्रिय झण्डा जडान गरिएको उनले बताए।
पुल भएर आवतजावत गर्ने यात्रुहरूले भिडियो, टिकटक तथा रिल्स बनाउने गरेको र राष्ट्रिय झण्डाले पुलको आकर्षण थप बढाउने विश्वास गरिएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको ठकुल्लाले बताए।
सूर्योदय, सूर्यास्त तथा कर्णाली नदीको मनोरम दृश्य अवलोकन गर्न आउने प्रकृतिप्रेमीहरूका लागि यो क्षेत्र उपयुक्त गन्तव्य बन्दै गएको छ। राष्ट्रिय झण्डा जडान गरिएपछि पुलको सौन्दर्य अझ निखारिएको स्थानीयको भनाइ छ।
टिकापुर–८ वनगाउँका स्थानीय खुशिराम चौधरीले राष्ट्रिय झण्डा जडान गर्नु सकारात्मक र प्रशंसनीय कार्य भएको बताए। उनका अनुसार यसले राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नुका साथै पुललाई थप चिनारी दिलाउनेछ।
स्थानीयवासीहरूले यस्ता रचनात्मक तथा सामाजिक कार्यमा अन्य युवाहरू पनि अग्रसर हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार सार्वजनिक स्थलहरूको सौन्दर्यीकरणले पर्यटन प्रवर्द्धनसँगै स्थानीय क्षेत्रको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।



समाचार
