खक्रौला/ नेपाल–भारत सीमास्थित टीकापुर नगरपालिका–९ को सत्ती भन्सार कार्यालय नजिक रहेको कैलाश मानसरोवर प्रवेशद्वारमा राष्ट्रिय झण्डा फहराइएको छ। लामो समयदेखि अलपत्र रहेको उक्त प्रवेशद्वारमा युवा व्यवसायी तथा समाजसेवी कृत ठकुल्लाको पहलमा झण्डा स्थापना गरिएको हो। कैलाश मानसरोवर प्रवेशद्वारका दुवै भागमा राष्ट्रिय झण्डा राखिनुका साथै सीमाक्षेत्रमा सरसफाइ र मोहना पुलमा समेत नेपाली झण्डा स्थापना गरिएको छ।
झण्डा अनावरण कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नागार्जी, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक देवराज विष्ट, सत्ती भन्सार कार्यालय प्रमुख चक्र सोनी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सीमाक्षेत्रमा राष्ट्रिय पहिचान झल्किने गरी गरिएको पहलको प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नागार्जीले स्थानीय सरकारले गर्नुपर्ने महत्वपूर्ण काम युवा व्यवसायी तथा समाजसेवी कृत ठकुल्लाले व्यक्तिगत पहलमा गरेको भन्दै धन्यवाद व्यक्त गरे। उनले सीमाक्षेत्रमा राष्ट्रिय झण्डा स्थापना गर्नुका साथै सरसफाइ अभियान सञ्चालन गरेर राष्ट्रिय पहिचान र देशप्रेमको भावना प्रवर्द्धन गर्ने कार्य प्रशंसनीय रहेको बताए। सत्ती भन्सार कार्यालय प्रमुख चक्र सोनीले यस कार्यले नेपाल–भारत सीमा क्षेत्रको स्पष्ट चिनारी स्थापित गर्नुका साथै भारतबाट आउने पर्यटकलाई नेपाल प्रवेश गरेको अनुभूति गराउने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) देवराज विष्टले सीमामा राष्ट्रिय झण्डा फहराइएपछि सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीलाई थप हौसला मिलेको बताए। उनले स्थानीय युवाको सक्रियताले सीमा संरक्षण र राष्ट्रिय हितका विषयमा समुदाय पनि सचेत रहेको सन्देश दिएको उल्लेख गर्दै यस्ता अभियानले राष्ट्रिय भावना अझ बलियो बनाउने धारणा राखे।
युवा व्यवसायी तथा समाजसेवी कृत ठकुल्लाले देशका अधिकांश सीमा नाकामा राष्ट्रिय झण्डा देखिए पनि खक्रौला नाकामा त्यस्तो व्यवस्था नदेखिएकाले आफ्नै पहलमा झण्डा स्थापना गरिएको बताए। उनका अनुसार सीमामा राष्ट्रिय झण्डा देख्दा नागरिकमा देशप्रतिको गर्व बढ्नुका साथै भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकले पनि नेपालको स्पष्ट अनुभूति गर्न सक्छन्। उनले राष्ट्रिय झण्डा राष्ट्रको पहिचान र स्वाभिमानको प्रतीक भएकाले यसको सम्मान र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताए।



समाचार
