टीकापुर/ कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रेनेड विष्फोट हुँदा सैनिक जवान हिमालविक्रम शाहीको मृत्यु भएको छ भने हिमराज जोशी गम्भीर घाइते भएका छन्। ब्यारेकभित्र नियमित सैन्य गतिविधिका क्रममा अचानक भएको विष्फोटमा दुवै सैनिक घाइते भएका थिए ।
घाइते सैनिकहरूलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा हिमालविक्रम शाहीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। गम्भीर घाइते हिमराज जोशीको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ।
घटनापछि नेपाली सेनाले ब्यारेक क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै घटनाको छानबिन सुरु गरेको छ। ग्रेनेड कसरी विष्फोट भयो र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा अनुसन्धान भइरहेको सेनाले जनाएको छ।
यस घटनाले सुरक्षा निकाय तथा स्थानीय क्षेत्रमा चासो बढाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।



समाचार
