आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूविरुद्ध दाबी तथा विरोध उजुरी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार रेशम चौधरीसहित केही उम्मेदवारविरुद्ध उजुरी परेको हो।
नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली–१ का प्रतिनिधिसभा उम्मेदवार रहेका रेशमलाल चौधरीविरुद्ध पनि उजुरी दर्ता गरिएको छ। सर्वोच्च अदालतबाट टिकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला भइसकेकाले उनी निर्वाचनमा उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै उजुरी दर्ता गरिएको हो।

यद्यपि, चौधरीलाई राष्ट्रपतिबाट सजाय माफी दिई रिहा गरिएको थियो। तर, जन्मकैदको फैसला कायम रहेको अवस्थामा निर्वाचनमा उम्मेदवारी दिन मिल्छ कि मिल्दैन भन्ने विषयमा विवाद उठाइएको उजुरीमा उल्लेख छ।
उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले चौधरी पक्षलाई भोलि बिहान १० बजेसम्म उजुरीको विरोधमा आवश्यक प्रमाण तथा कागजात पेस गर्न निर्देशन दिएको छ। आयोगले कानुनी प्रक्रिया अनुसार उजुरीमाथि अध्ययन गरी निर्णय गर्ने जनाएको छ।
यस्तै,अन्य उजुरी परेका उम्मेदवारहरूमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का दुई जना, सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक जना, रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का एक जना उम्मेदवार रहेका छन्।










समाचार 