गोपाल हमाल, धनगढी : अघिल्लो निर्वाचनमा म दोस्रो भए। दोस्रो स्थानलाई पनि हामीले पहिलो स्थान नै ठान्यौं। मैले विगत चार वर्ष धनगढीका लागि के गर्न सकिन्छ ? भनेर योजना बनाएरै बिताए। बार्गेनिङ गरेर अब ठूलो दलमा गइहाल्नुपर्छ भन्ने मेरो ध्येय थिएन।
आज पनि मलाई धेरै दलले तपाईं हाम्रोमा आउनुस भन्नुहुन्छ। तपाईंका लागि ढोका खुला छ, हामी मेयरको टिकट दिन्छौं पनि भन्नुहुन्छ। तर त्यस्तो अवस्थामा गोपी हमाल जित्न र नजित्नुमा कुनै अर्थ राख्दैन। धनगढीले जित्नुपर्छ भन्ने मेरो धारणा हो। पछिल्लो ६ महिनाको अवधिमा म धेरैको घरमा गए। सबैलाई, चुनाव लड्ने वा नलड्ने, लडेपछि के बाट लड्ने र तपाईं सहयोग गर्नुहुन्छ की गर्नुहुन्न ? भनेर मैले यी तीन प्रश्न गर्थे। जसले मैले मत सर्वेक्षण गरे। मलाई अधिकांश साथीहरु र अभिभावहरुले तपाईंलाई हामीले स्वतन्त्रै रुपमा लिएका छौ र तपाईं स्वतन्त्र नै हुनुहोस भनेर भन्नुभयो। मैले सोही कुरालाई शिरोधार्य गरेर स्वतन्त्र हुने निर्णय गरे।
जित्नु मात्रै ठूलो कुरा होइन रहेछ। यो अवधिमा जित्न त धेरैले जिते तर हाम्रो क्षेत्रले किन हारिरहेको छ भनेर मैले सोचे। र, दलबाट लड्ने होइन की स्वतन्त्र भएर लड्ने योजना बनाए। म हरेक धनगढीवासीको मत र विश्वासले जित्न चाहन्छु। धनगढी मात्र होइन यो भूगोलभन्दा बाहिर बसेका, जसले सुदूरपश्चिम र धनगढीलाई माया गर्नुहुन्छ, उहाँहरुलाई साथमा लिएर धनगढीको दिगो विकास गर्ने र सबैलाई न्याय गर्ने पक्षमा म उभिएको छु। म यहाँ कसैको पनि आलोचना गर्न चाहन्न। जस्तो राजनीतिक पार्टी छ मान्छे सोहीअनुसार ढल्ने हो। जता ओरालो त्यतै खोला जाने हो। अब यो ओरालो लागेको खोलाले त हामीलाई बगाएर लग्छ। त्यसैले, अब हामीले नयाँ कुराको सुरुवात गर्न आवश्यक छ।
म एउटा कुराको प्रण गर्न चाहन्छु। मैले पहिले पनि भनेको थिए, म कुनै पनि किसिमको सुविधा धनगढी उपमहानगरपालिकाबाट लिदैन। एक रुपैयाँ पनि लिदैन। म उपमहानगरपालिकाको गाडी पनि चढ्दिन। मेयरले पाउने कुनै पनि किसिमको लाभ लिदैन। यसको अर्थ के हो भने, म भ्रष्टाचार र वेथिती हुन दिदैन। अहिले व्याप्त भ्रष्टाचारको प्रवृत्तिलाई मेयर भएपछि कल्याणकारी प्रवत्तिमा कायम गरेर देखाउने छु। त्यो दृढ संकल्पका साथ अगाडि बढेको छु।
हिजोको नगरपालिका भनेको एउटा ग्राभेल फाल्नमा मात्र सिमित थियो। अहिलेको नगरपालिका सम्पूर्ण सरकार हो। १० वर्षपछि यो सहर कस्तो हुने, ५० वर्षपछि कस्तो हुने, सरकारी विद्यालयलाई कसरी सुदृढ बनाउने, पर्यावरणको स्थिति कस्तो हुने, भौतिक पूर्वाधारको स्थिति के हुने, स्वास्थ्यको स्थिति के हुने लगायतका सम्पूर्ण जिम्मेवारी अहिले मेयरको नेतृत्वमा गठन भएको स्थानीय तह हो। त्यसकारणले त्यो स्थानीय तह तपाईं हाम्रो भाग्य विधता हो। यो कुरालाई हामीले बुझ्न आवश्यक छ। ०४६ सालभन्दा अगाडिको नगरपालिका होइन यो।
यसै धनगढीले मलाईं यहाँसम्म पुगाएको हो। नाम र दाम पनि धनगढीबाटै प्राप्त भएको हो। ५ वर्ष धनगढीलाई स्वयमसेवकको रुपमा काम गरेर देखाउन मेरो इच्छा हो। म माटाको ऋण तिर्न चाहन्छु। मैले धनगढी मोडेल स्थापित गर्ने भनेको छु। जसरी भारतमा केजरिवालले दिल्ली मोडेल बनाए, गुजरातमा मोदीले बनाए। हामी धनगढी मोडेल नेपालको लागि प्रारम्भ गर्छाै। आजसम्म जति हाम्रा, उती राम्रा भन्ने छ। अब जति राम्रा उती हाम्रा हुन्छ। कसैलाई विभेद हुँदैन। काँग्रेस होस, कम्युनिष्ट होस, एमाले होस, माओवादी होस, राप्रपा होस अथवा कुनै दलमा नभएका व्यक्ति हुन्। सबैले समान न्याय पाउने छन्। मेरो जित सम्पूर्ण धनगढीवासीको जित हुनेछ।
मैले बदमासी गरेको देख्नुभयो भने तपाईंहरुले मलाई कालोमोसो लगाउनु पर्दैन। म कालोमोसो लगाएर आफै बजार घुम्नेछु। यो मेरो अन्तिमपटक हो। पटकपटक अब लड्दैन। एकपटक तपाईहरुले मलाई मौका दिनुपर्छ। एकपटक मलाई परीक्षामा बस्न दिनुहोस्, पास भएन भने जे सजाय पनि भोग्न तयार छु। योजनाको विषयमा अनावश्यक आश्वासन दिएर अहिले नै ठगी गर्न चाहन्न। मेरो एउटै मात्रै लक्ष्य, धनगढीलाई बनाउने हो। त्यसका लागि आवश्यकताअनुसार सहकार्य गर्न तयार हुनेछु। जाँचमा बस्न दिने अवसर पाउने विश्वाससहित धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु।
(बिहीबार घोषणा सभामा स्वतन्त्र उम्मेदवार हमालको मन्तव्यमा आधारित)