लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति, सत्ता गठबन्धन र एमालेबीच त्रिपक्षीय भिडन्त
कैलाली, कञ्चनपुर सहित तराईका केही जिल्ला लाई समेटेर थरूहट प्रदेश बनाउनुपर्ने माग गर्दै सुरु भएको थरूहट आन्दोलन सशक्त बन्दै थियो । संविधान जारी हुनु एक महिना अघि ७ भदौ, ०७२ मा थरूहट पक्षले टीकापुरमा बृहत् जनप्रदर्शन गर्‍यो । प्रदर्शनले हिंसात्मक झडपको रूप लिँदा आठ प्रहरी र एक नाबालक सहित नौजनाले ज्यान गुमाए । टीकापुरमा थरूहट आन्दोलनको अगुवाइ गरिरहेका थिए, थारू नेता रेशम चौधरीले । घटना पछि उनी फरार भए । फरार अवस्थामै ०७४ को चुनावमा रेशम कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । तत्कालीन वामगठबन्धनका उम्मेदवारविरुद्ध करिब २१ हजार मतको भारी अन्तरले उनी विजयी भए । निर्वाचित भएको तीन महिनापछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरी टीकापुर घटनामा दोषी ठहर भई आजीवन कारावासको सजाय भोगिरहेका छन् ।
पाँच वर्षयता प्रतिनिधिसभामा जनप्रतिनिधिविहीन रहेको यो क्षेत्र अहिले चुनावी चासोको केन्द्रमा छ । रेशम भारी मतान्तरसहित निर्वाचित भएको क्षेत्र नम्बर १ मा यसपालि उनकी पत्नी रञ्जिता श्रेष्ठ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन् । जेलमा रहेका रेशमको अग्रसरतामै रञ्जिताको अध्यक्षतामा गत वर्ष नागरिक उन्मुक्ति पार्टी गठन गरिएको थियो । श्रेष्ठ पार्टीकी अध्यक्ष हुन् । 
यस क्षेत्रमा श्रेष्ठसँगै गठबन्धनका तर्फबाट कांग्रेस नेता एवं पूर्वमन्त्री रामजनम चौधरी र एमालेबाट टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावल प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । रञ्जिताले आफूलाई रेशमको प्रतिनिधिका रूपमा उभ्याएकी छिन् । नागरिक उन्मुक्ति पार्टीले थारूसहित पिछडिएको समुदायको अधिकारसँगै टीकापुर घटनालाई चुनावी मुद्दा बनाएको छ । रञ्जिताले टीकापुर घटनामा निर्दोषलाई राज्यले जेल हालेको दाबी गर्दै यसलाई आफूले चुनावी मुद्दा बनाएको बताइन् ।
‘टीकापुर घटनालाई लिएर रेशमसहित केही साथीहरूमाथि राज्यबाट अन्याय भएको यहाँका मतदाताले बुझेका छन् । त्यो अन्यायविरुद्ध आवाज उठाउन हामी चुनाव लड्न लागेका हौँ,’ नयाँ पत्रिकासँग कुरा गर्दै उनले भनिन्, ‘रेशमजीको प्रतिनिधिका रूपमा म चुनावमा होमिएकी हुँ ।’ पिछडिएका वर्गको अधिकारकै लागि आफ्नो पार्टी गठन भएकाले मतदाताले आफूलाई विश्वास गर्ने रञ्जिताको विश्वास छ । बर्दियाबाट चुनाव लड्न चाहेका रेशमको उम्मेदवारी भने आयोगले अस्वीकृत गरेको छ ।
गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामजनम चौधरीको पनि यो क्षेत्रमा बलियो प्रभाव छ । उनी यसअघि तत्कालीन क्षेत्र नम्बर २ र ३ बाट २०४८, ०५१, ०५६ र ७० मा निर्वाचित भएका थिए । गठबन्धनको सहमतिअनुसार क्षेत्र नं ३ माओवादी को भागमा परेपछि चौधरीले क्षेत्र नम्बर १ मा टिकट पाएका हुन् । यो क्षेत्रमा उनको बलियो प्रभाव रहेको जोशीपुर गाउँपालिका तथा भजनी का दुईवटा वडा पर्छन् । एमालेका रावल टीकापुर नगरपालिकाका निवर्तमान मेयर हुन् । उनी मेयर हुँदा नगरको विकासका लागि गरेको कामलाई आधार बनाएर एमालेले मत माग्दै छ । यहाँ थारू सँगै अछामबाट बसाइँ सरी आएका मतदाताको बाहुल्य छ । थारू मतदाताको संख्या बढी रहेकाले कांग्रेसले नागरिक उन्मुक्तिलाई टक्कर दिन थारू समुदायकै नेतालाई अघि सारेको हो । 
प्रदेश सभा क्षेत्र २ मा द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएको एमालेले १ मा जनता समाजवादी पार्टीका उम्मेदवार भवतराम चौधरी उम्मेदवारलाई सघाउँदै छ । गठबन्धनबाट प्रदेश सभा १ मा माओवादीका दीर्घ बिनाडी र २ मा कांग्रेस नेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल उम्मेदवार बनेका छन् ।
स्थानीय तहमा कुन पार्टीलाई कति मत ?    
क्षेत्र नं १ मा पर्ने सबै स्थानीय तहका वडामा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा अगाडि छ । यद्यपि, कांग्रेस र माओवादी को मत जोड्दा भने गठबन्धन थोरै मतले अगाडि देखिन्छ । यो क्षेत्रमा वडाध्यक्षमा नागरिक उन्मुक्ति ले १७ हजार एक सय ९३ मत पाएको थियो । कांग्रेसले ११ हजार ६ सय ४२, एमालेले १० हजार तीन सय ३२, माओवादीले ६ हजार नौ सय ५७, राप्रपाले चार हजार ६, जनता समाजवादी पार्टीले दुई हजार तीन सय दुई र एकीकृत समाजवादीले दुई हजार दुई सय ३२ पाएका थिए । वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने यहाँ नागरिक उन्मुक्ति र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुनेछ । यद्यपि, उम्मेदवारको व्यक्तित्व, जातीय, क्षेत्रीय आदि कारणले निर्वाचन परिणाम प्रभावित हुनेछ । क्षेत्र नं १ मा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका तथा भजनीका दुई वडा र जानकी गाउँपालिकाका पाँच वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा टीकापुरमा उपमेयरबाहेक यी सबै तहको प्रमुख र उपप्रमुख नागरिक उन्मुक्तिले जितेको थियो ।
निर्वाचन जित्ने आ–आफ्नै दाबी
प्रतिनिधिसभा र प्रदेश सभामा टिकट वितरणप्रति केही नेताहरू असन्तुष्ट हुनुले नागरिक उन्मुक्तिलाई निर्वाचनमा केही असर पर्ने देखिन्छ । तर, रञ्जिता भने स्थानीय तहमा जस्तै यो निर्वाचनमा पनि रेशम को विरासत जोगाउन आफू सक्षम रहेको दाबी गर्छिन् । ‘थारू र पिछडिएको अन्य समुदायको हितमा हामीले उठाएका मुद्दाप्रति जनताको साथ र भरोसा पाएका छौँ,’ उनले भनिन् । 
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका रावल भने संघ र प्रदेश दुवैतिर गठबन्धन स्पष्ट रूपमा अगाडि रहेको दाबी गर्छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन नमिल्नु र केही व्यवस्थापकीय कमजोरीले प्रमुख र उपप्रमुखमा पराजय व्यहोर्नुपरेको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर अहिले गठबन्धन एकताबद्ध र बलियो बनेको बताए । ‘बाहिर हल्ला चलाइएजस्तो कुनै पार्टीविशेषको एकलौटी यहाँ छैन । स्थानीय तहको मत हेर्दा पनि गठबन्धन स्पष्ट रूपमा अगाडि छ,’ रावलले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन नमिल्दा केही समस्या भएको हो । अहिले हामी एकताबद्ध छौँ ।’ नागरिक उन्मुक्ति प्रति लक्षित गर्दै उनले भावनासँग खेलेर राजनीति नहुने बताए । भावनासँग खेलेर राजनीति गर्नेलाई अब जनताले विश्वास नगर्ने उनको भनाइ छ । ‘स्थानीय तहको चुनावमा फरक अवस्था थियो । अब भावनासँग खेलेर मत लिन खोज्नेलाई मतदाताले विश्वास गर्दैनन्,’ रावलले भने, ‘अघिल्लो निर्वाचनजस्तो कुनै व्यक्ति र पार्टी विशेषप्रति मतदाताको क्रेज छैन ।’ थारू समुदाय लाई लिएर जातिगत राजनीति गरेको आरोप नागरिक उन्मुक्तिलाई लाग्ने गरेको छ ।
पछिल्लो समय पार्टीको सांगठनिक अवस्था यो क्षेत्रमा बलियो बनेको र जसपाको पनि केही प्रभाव रहेकाले एमाले प्रतिस्पर्धामा अगाडि रहेको उक्त पार्टीका नेताहरूको भनाइ छ । ०७४ को निर्वाचन मा रेशम ३४ हजार ३ सय १४ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी वामगठबन्धनबाट एमालेका गरिमा शाहले १३ हजार ४ सय ६ मत पाएकी थिइन् ।
साभार : नयाँ पत्रिका


प्रकाशित : २०७९ कार्तिक २ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप