हिक्मत वादी, मुडा / कैलालीको गोदावरी नगरपालिका ३ चौकी डाडा स्थित महेन्द्र राजमार्ग को छेउमा बिगत एक दशक देखि बस्दै आएका वादी समुदायका घरटहरा भत्काई आगो लगाईए पछि वादि समुदायले विरोधमा हिजो (आइतबार) मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।
बडिमालिका सामुदायिक वन उपभोक्ता समितीका कर्मचारी र स्थानीय बन कार्यालयका कर्मचारीको मिलेमतोमा वादी समुदायका घरटहरा भत्काई जलाईएको स्थानीय केशव दुलाल वादीले जानकारी दिए ।
आगजनि बाट अन्नपात, लत्ताकपडा, महत्वपूर्ण कागजात र बालबालिकाका स्कुल ड्रेस जलेर नस्ट भएको स्थानीय कमला वादीले जानकारी दिएकी छिन्।
वादी समुदायका घरटहरा भत्काई आगजनी भए पछि सुदूरपश्चिमका वादी समुदाय आन्दोलित भएका छन्। वादी समुदायका घर जलाउनेलाई कारबाही गर,क्षतिपुर्तिको ब्यबस्था गर, उचित बसोबासको ग्यारेन्टी गर,र वादी समुदायको पुनर्स्थापना गर, भन्दै नारा जुलुस सहित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय गेट अगाडि आन्दोलित वादी समुदाय धर्नामा बसेका थिए।
आगजानी तथा तोडफोड गरिएका घरलाई क्षतिपुर्ति र गासबास कपासको ब्यबस्था गर्नुपर्ने, नेपालको कानुन बमोजिम एकपटक वादी समुदायहरू भुमि सहित आवासको ब्यबस्था गर्नुपर्ने, पछि पारिएका वादी समुदायलाई पुनस्थापना गर्नुपर्ने, २०७८/०७९ को प्रदेश सरकार ले वादी समुदायका लागि बिनियोजन गरिएको रकमलाई यथाशीघ्र र प्रभावकारीरुपमा वितरण गरि कार्यन्वयन गर्नुपर्ने, लगायतका ११ बुँदे माग राखि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।
साे ज्ञापनपत्र लाई बोधार्थ स्वरुप जिल्ला प्रशासन कार्यालय धनगढी , जिल्ला वन कार्यालय धनगढी , राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय धनगढी , गोदावरी नगरपालिकाको कार्यालय अत्तरियामा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको राष्टिय वादी सन्जालका अध्यक्ष केशव नेपाली वादीले जानकारी दिए ।
बिरोध तथा धर्ना कार्यक्रमको आयोजना धुमन्ते मगन्ते भुमिहिन वादी अधिकार सँघर्ष समितिले गरेको थियो भने कार्यक्रमकाे समन्वय: राष्ट्रिय वादी सँजाल नेपालले गरेको थियो।