धनगढी / जिल्ला प्रहरी कार्यालय कैलालीले होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
तराईका जिल्लामा (चैत ४ गते ) शुक्रवार परेको होली पर्वमा पर्वमा रमाइलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा आपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरूमा ध्यान दिन आग्रह गरिएको हो।
पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छा विपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने समेत प्रहरीले चेतावनी दिएको छ ।कोरोनाको जोखिम यथावत् रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गर्न पनि प्रहरीले अनुरोध गरेको हो ।
रङ र अबिरका साथ एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
सडक चोक तथा सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्ने विरुद्ध कारबाही हुने जनाएको छ ।