सत्ति / टीकापुर नगरपालिका र लम्कि नगर पालिकामा दुई दलिय गठबन्धन हुने भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बिच मात्रै टीकापुर र लम्किमा स्थानीय तहको यहीँ बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन हुने भएको हो । कैलालीमा पाँच दलिय गठबन्धनमा पालिकाको नेतृत्वको लागि भागबन्डा नमिलेपछि माओवादी र एकीकृत समाजवादी अन्य गठबन्धनका दलसँग मित्रवत प्रतिस्पर्धाको रुपमा अघि बढ्ने भएको छ । माओवादी केन्द्रका टीकापुर नगर इन्चार्ज बालकृष्ण थारु, नगर अध्यक्ष खडक शाह र नेकपा एकीकृत समाजवादीका टीकापुर नगर इन्चार्ज जगदिश्वर पण्डित र नगर अध्यक्ष रंग अधिकारीले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गर्दै दुई दलिय गठबन्धन बनाएर अघि बढ्ने सहमति भएको बताइएको छ ।
दुबै पार्टीले जिल्ला कमिटी र प्रदेश कमिटीलाई बोधार्थ पठाउँदै सत्ता गठबन्धनका अन्य घटक सँग मित्रवत प्रतिस्पर्धा गर्दै वर्तमान सन्दर्भमा ५ दलिय गठबन्धनको सहमतिमा अगाडि बढ्ने राष्ट्रिय सहमती रहे पनि पछिल्लो समय गठबन्धनमा देखिएको पालिका बाँडफाँडको विषयमा दुई दलले असहमति रहेको जानकारी गराउँदै टीकापुर र लम्कि नगरपालिकामा दुई दल मिलेर चुनावमा जान तयार रहेको समत सहमति पत्रमा उल्लेख गरिएको छ । लम्कि नगरपालिकामा मेयर सहित ४ वडामा समाजवादी र उपमेयर सहित ६ वडाको नेतृत्व माओवादी केन्द्रले गर्ने निर्णय भएको छ ।