सत्ति / निर्वाचन अधिकृतको कार्यालय टिकापुरले निर्वाचनमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आचार संहिता बारे जानकारी गराएको छ ।
शनिबार टीकापुरका निर्वाचन अधिकृत पुष्कर खडकाले निर्वाचनमा भाग लिने तयारीमा रहेका राजनीतिक दलका प्रतिनिधि र पत्रकारलाई आचार संहिताबारे जानकार गराएका हुन । निर्वाचन अधिकृत खडकाले वडा सदस्य देखि सबै कर्मचारी र मतदाता समेतलाई आचारसंहिता लाग्ने बताए ।
निर्वाचन अवधिभर मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्यले कुनै पनि दलका उम्मेदवार को प्रचारप्रसार गर्न नपाइने बताए ।
आचार संहितामा सबै सरकारी र अर्ध सरकारी संस्थाका कर्मचारीले कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा मत माग्न, कुनै सूचना सामग्री पोष्ट गर्न वा शेयर गर्न नपाइने व्यवस्था गरेको छ । यस्तै सञ्चार माध्याम र पत्रकारले कसैको पक्ष विपक्षमा फेसबुक, ट्विटर, यूट्यूव तथा सामाजिक सञ्जाल मा शेयर लाइक कमेन्ट गर्न नपाइने व्यवस्था गरेको छ ।
राजनीतिक दलले सवारी साधन प्रयोग गर्दा मोटरसाइकल, रिक्सा वा चार पाँग्रे गरी बढीमा दुई वटा मात्रै प्रयोग गर्न पाने व्यवस्था गरेको छ । आयोगले जारी गरेको आचार संहितामा राजनीतिक दलका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् ।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनको काम बैशाख ११ र १२ गते विहान १० बजेदेखि ५ बजेसम्म हुने व्यवस्था मिलाएको छ । मनोनयन दर्ता गर्दा प्रमुख, उपप्रमुखका लागि १ हजार ५ सय, वडाध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय शुल्क तोकिएको छ ।
कार्यक्रममा एमाले, काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ती पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका प्रतिनिधि र स्वतन्त्र उम्मेदवार उपस्थित थिए । कैलालीमा ३० वटा दल दर्ता रहेको जानकारी गराइएको थियो ।