सत्ति / टीकापुर नगरपालिकाले सार्वजनिक स्थलमाविभिन्न निर्माण कम्पनीले थुपारेका निर्माण सामाग्री हटाउन शुरु गरेको छ । नगरपालिकाको चोक, चौराहा, ओपन स्पेस तथा बाटोको छेउछाउमा जथाभावी थुपारेका ढुंगा, गिट्टी, वालुवा, ग्राभेल जस्ता निर्माण सामाग्री बुधबार देखि हटाउन शुरु गरेको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने निर्माण व्यवसायीका निर्माण सामाग्री नगरपालिकाले हटाउन शुरु गरेको नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले बताए ।
जथाभावि राखीएका निर्माण सामाग्रीले नगरपालिकाको सुन्दरता विगारेका कारण जबसम्म निर्माण व्यवसायीले निर्माण सामाग्री हटाउदैनन् तवसम्म नगरपालिकाको अभियान जारी रहने प्रमुख डगौरा थारुको भनाई छ ।
नगर उप–प्रमुख खडक शाहले हामीले पटक पटक सामाग्री उठाउन ताकेता गर्दा पनि केहि निर्माण व्यवसायीले अटेर गर्दा कारवाही स्वरुप सामाग्री उठाउनु परेको बताए । उनले नगरपालिकाले सञ्चालन गरेको यो अभियानमा सबैलाई सहभागि भई नगरको सुन्दरता बढाउने कार्यमा सघाउन आग्रह गरे । टीकापुर १ भित्र मात्र ३२ वटा स्थानमा अनाधिकृत रुपमा ढुंगा, गिट्टी, वालुवा, ग्राभेल थुपारेको तथ्यांक टीकापुर नगरपालिकासंग रहेको छ । ति मध्ये केहि व्यवसायीले नगरपालिकाले हटाउने सूचना जारी गर्दा आफै हटाउन शुरु गरेका छन् । त्यस मध्येका एक निर्माण व्यवसायी पूर्णबहादुर ठकुल्लाले आफूले पनि पहिले सडकको छेउछाउमा निर्माण सामाग्री थुपारेको र अहिले त्यसलाई हटाउन थालेको बताए ।
अबको २ दिनभित्र आफूले थुपारेको सबै सामाग्री हटाईसक्ने उहाँले प्रतिवद्धता जनाए । तर केहि निर्माण व्यवसायी भने निर्माण सामाग्री हटाउनुको साटो उल्टै वादविवादमा उत्रिएका छन् । निर्माण व्यवसायी वादविवादमा उत्रिदा नगरपालिकाको सामाग्री उठाउन गएको नगरप्रमुख र उप–प्रमुख सहितको टोली र निर्माण व्यवसायी बिच केहि समय भनाभन् पनि भएको थियो । सामान उठाउन अटेर गरी भनाभनमा उत्रिएका एक निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केहि दिन भित्र सार्वजनिक स्थलमा रहेका आफ्ना सबै निर्माण सामाग्री हटाउने प्रतिवद्धता पछि सम्झाई बुझाई छोडीएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । नगरपालिकाले उठाएका निर्माण सामाग्री नगरपालिकाले सार्वजनिक काम लगाउने बताएको छ ।