सत्ति / कैलालीका एक व्यक्ति ३० औं पटकमा एसईई पास भएका छन् । कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगी मा कार्यरत ५३ वर्षीय भागीराम चौधरी सोही विद्यालयबाट यसवर्ष एसईई पास भएका हुन ।
उनले २.०० जीपीए ल्याएर एसईई पास गरेको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए । ‘अथक मिहिनेत र धैर्यता गरेमा सफल भइन्छ भन्ने उहाँ एक उदाहरण बन्नु भएको छ’, शिक्षक शर्माले भने । ‘चौधरीले अब क्याम्पस पढ्न पाउनुहुनेछ ।’
कैलारी गापा–६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए । अघिल्लो दुई वर्ष कोरोना महामारीको क्रममा भने उनले एसईईका लागि फर्म भरेनन् । ‘यो वर्ष पनि परीक्षा दिने खासै मन थिएन, स्वास्थ्यले पनि साथ दिएको थिएन’, उनले भने । ‘तर, पछि फेरि मन लाग्यो । दिएँ, पास भएको छु ।’ अब जनता माविमै कक्षा ११, १२ पढ्ने चौधरीले बताएका छन् ।