सत्ति / माघ २४, सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने/नदिने विषय केन्द्रीय तहमा टुङ्गो लगाउने उद्देश्य सहित नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेश सभा सदस्य आज काठमाण्डौं गएका छन् ।
उनीहरू आज धनगढीबाट काठमाण्डौंका लागि उडे । उनीहरू सोझै डिल्लीबजार कारागार गएका छन् । जहाँ नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी छन् ।
सत्ता साझेदार दल माओवादी केन्द्र र एमालेले आफ्ना माग पुरा गर्ने प्रतिबद्धता गरे सबै सांसद आज साँझ धनगढी फर्किने छन् । माग पुरा नभए उनीहरू फर्किने छैनन् । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले अन्तिम निर्णयका लागि सातै जना सांसद आज काठमाण्डौं गएको बताए । प्रदेश सरकारलाई विश्वासको दिने/नदिने विषयमा आजै अन्तिम निर्णय हुनेछ, प्रवक्ता पण्डितले भने, साँझसम्म निर्णय बाहिर आउनेछ ।
सुदूर पश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल र नागरिक उन्मुक्ति पार्टीका सांसदबीच हिजो धनगढीमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि उनिहरु काठमाण्डौं गएका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेमा मुख्यमन्त्री रावल सशङ्कित भएका छन् । मुख्यमन्त्री रावलले विश्वासको मत लिन भोलि प्रदेश सभाको बैठक आह्वान गरिसकेका छन् । विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाइसकेको अवस्थामा नागरिक उन्मुक्तिका सांसद काठमाण्डौं जाँदा मुख्यमन्त्री रावल विश्वासको मत पाउनेमा विश्वस्त हुन नसकेको देखिन्छ ।
विश्वासको मत दिनु अघि नागरिक उन्मुक्ति पार्टीले राखेका माग पुरा गर्न सक्ने अवस्था नरहेकोले सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाउन सक्ने अवस्था कम रहेको एमालेकै नेता बत्ताउँछन् ।
नागरिक उन्मुक्ति पार्टीको पहिलो माग कारागारमा रहेका रेशम चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने रहेको छ ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा भौतिक पूर्वाधार, सामाजिक विकास र आन्तरिक मामिला मन्त्रालय मागेको छ । तीन वटा मन्त्रालय र दुई वटा समितिको सभापति माग गरेको नागरिक उन्मुक्तिलाई भने जति भाग दिँदा प्रदेश सरकारमा सत्ता साझेदार दल माओवादी, एमाले र राप्रपाले आकर्षक मन्त्रालय गुमाउनु पर्नेछ । त्यसो हुँदा मुख्यमन्त्री सहित सात सदस्यीय मन्त्री परिषदमा सत्ता साझेदार तीन दलसँग चार मन्त्रालय मात्र हुनेछन् । नागरिक उन्मुक्ति सँग भने तीन मन्त्रालय हुनेछन् ।
नागरिक उन्मुक्ति पार्टीले सात वटा प्रदेशमध्ये कुनै एक प्रदेशमा आफ्नो पार्टीका प्रवक्ता दामोदर पण्डितलाई प्रदेश प्रमुख बनाउनु पर्ने माग समेत सत्ता गठबन्धन समक्ष राखेको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता पण्डितलाई प्रदेश प्रमुख बनाउन सहमत भएको बताइएको छ ।
उक्ता काँग्रेसले भने नागरिक उन्मुक्तिलाई सरकार को नेतृत्व गर्न आग्रह गरेको छ । काँग्रेसले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री सहित महत्त्वपूर्ण मन्त्रालय दिने आश्वासन दिएको छ ।
सुदूर पश्चिम प्रदेशमा सरकार निर्माणमा निर्णायक रहेको नागरिक उन्मुक्तिले सत्ता पक्ष र काँग्रेस दुवै सँग समानान्तर ढङ्गले वार्ता जारी राखेको छ । सत्ता गठबन्धनले आफ्ना माग पुरा नगरे नागरिक उन्मुक्तिले काँग्रेससँग मिलेर प्रदेश सरकार गठन गर्ने सम्भावना पनि उत्तिकै छ । काँग्रेसका नेता भने उन्मुक्तिसँग मिलेर प्रदेश सरकार बनाउनेमा ढुक्क देखिन्छन् । उन्मुक्तिका नेता रेशम चौधरीले पनि पटक पटक काँग्रेससँगको वार्तामा काङ्ग्रेससँगै मिलेर सरकारमा जाने आश्वासन दिएको काँग्रेसका एक नेताले बताए ।
विश्वासको मत दिनुअघि नागरिक उन्मुक्तिका सर्तहरू :
१- रेशम चौधरीको रिहाइ
२- भौतिक पूर्वाधार, सामाजिक विकास र आन्तरिक मामिला सहित तीन वटा मन्त्रालय माग
३- नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित लाई प्रदेश प्रमुख बनाउनु पर्ने
४- सुदूर पश्चिम प्रदेश सभाका दुई वटा समितिको सभापति माग
नागरिक उन्मुक्तिलाई काँग्रेसको आश्वासन
१- सरकारको नेतृत्व
२- मुख्यमन्त्री सहित तीन वटा मन्त्री
३- दुई वटा समितिको सभापति