सत्ति / सुदुरपश्चिम प्रदेश सरकारको एक महिना मै बहिर्गमन भएको छ ।
मुख्यमन्त्री राजेन्द्र रावलले बिहीवार विश्वासको मत दिन सदनमा प्रस्ताब गरेका थिए तर सदनमा उपस्थित बहुमत सांसदहरु उक्त प्रस्ताबको बिपक्षमा ध्वनी मत जाहेर गरेका थिए । यो संगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन् । गत पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए तर, आज नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने जनाएपछि सरकारको बहिर्गमन भएको हो ।
सभामुखमा सत्ता गठबन्धनलाई साथ दिएको उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा भने विश्वासको मत दिन मानेन । उन्मुक्ति पार्टीका सांसद आजको बैठकमा सहभागी भएनन् । यो बिचमा उक्त पार्टीका नेता रेशम चौधरी संग एमालेका नेताको पटक पटक बार्ता भएको थियो ।
उसका सांसदहरुले रेशम चौधरी लगाएतका जेलबन्दीको रिहाई नभएसम्म सरकारलाई समर्थन नगर्ने बताउँदै आएका थिए ।
संविधान अनुसार अब प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्राबधान रहेको छ। सोही अनुसार अब ठूलो दलको हैसियले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।