मलाई अझै सम्झना छ, एकपटक हामी सपरिवार रेलमा यात्रा गर्दै थियौँ ।
बुबाले मलाई केही यात्रुहरूसँग परिचय गराउनुभयो । साथै मेरो प्रशंसा गर्दै म पढाइमा अब्बल भएको कुरा पनि उनीहरूलाई सुनाउनुभयो । त्यसपछि उनीहरुले मलाई सामान्य ज्ञानसँग सम्बन्धित प्रश्न सोधे । ती प्रश्नहरू विशेष गरी खेलकुद र अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त व्यक्तिहरुका बारेमा थिए ।
म ग्रामीण भेगको एक साधारण सरकारी स्कुलको कक्षा ४ मा पढ्ने विद्यार्थीको जबाफले उनीहरु आश्चर्यचकित भए । बुबाका लागि यो पर्याप्त थियो । मेरो प्रशंसा पुनः सुरु गर्नुभयो ।
हाम्रो वार्तालाप सुनिरहेकामध्येका एक जनाले बुबालाई यसबारे चेतावनी दिँदै भने – ‘तपाईँको छोरा ‘इन्टेलिजेन्ट’ रहेछ, हामीलाई थाहा भयो । तर, स्मरण रहोस्, धेरै प्रशंसाले बच्चा बिग्रिन्छ, पढ्दैन र अहङ्कारी बन्न सक्छ ।’
बुबा मेरो प्रशंसा गरेर पहिला पनि पटकपटक आलोचित हुनुभएको थियो । तर, मैले त्यस प्रकारका टिप्पणीको असर भने आफूमा कहिल्यै पर्न दिइन । जब म बाल्यकालका विभिन्न घटना केलाउन थाल्छु अनि मलाई बुबाको अभिभावकत्वको दृष्टिकोणले मेरो जीवनमा पार्ने प्रभावबारे सम्झना आउँछ
बुबाले मलाई कहिल्यै गाली गर्नुभएन वा मेरो आलोचना गर्नुभएन । बरु उहाँले सधैँ मेरो प्रशंसा गर्नुभयो । बुबाले गर्वका साथ गर्नुभएको मेरो प्रशंसाको क्षण म अझै सम्झन्छु । उहाँ मेरो क्षमताप्रति ठूलो विश्वास देखाउनुहुन्थ्यो । यसले मेरो आत्मविश्वासलाई उच्च राख्न मद्दत गरेको थियो ।
बुबाको प्रोत्साहनका शब्दले मलाई सधैँ उत्प्रेरणा र थप मिहिनेत गर्न प्रेरणा दिन्थे । बुबालाई गर्व गर्न र ममाथि उहाँको भरोसालाई टुट्न नदिन मैले आफ्नो प्रयत्नलाई सधैँ जारी राखेँ । उहाँको भविष्यवाणी र अपेक्षालाई साकार रूप दिन म कटिबद्ध थिएँ ।
त्यसैले बालबालिकाको प्रशंसाले पनि उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छ भन्ने मलाई लाग्छ । बुबाको दृष्टिकोण अद्वितीय थियो । यसले मलाई आज लगनशील डाक्टर मात्रै होइन एक समझदार र व्यावहारिक व्यक्ति बनाउन पनि मद्दत गरेको छ ।
बुबाको अभिभावकत्वको दृष्टिकोणले मेरो जीवनमा निक्कै प्रभाव पारेको छ । उहाँको प्रशंसाले मलाई कहिल्यै घमण्डी बनाएन । बरु यसले मलाई जिम्मेवारीबोधको भावनाले परिपूर्ण बनायो । यसले थप सफलता हासिल गर्न प्रेरित गर्यो । बुबाले मेरो प्रशंसा गरेर आत्मावलोकन गर्ने मेरो क्षमता पनि बढाउनुभएको थियो ।
उहाँले मलाई म सधैँ सक्षम छु भन्ने महसुस गराउनुहुन्थ्यो । उहाँलाई सही प्रमाणित गर्न म अथक प्रयास गर्थेँ । अहिले म अभिभावकको हैसियतमा छु । बुबाको दृष्टिकोणलाई मैले आफ्नै अभिभावकीय शैलीमा प्रयोग गर्ने प्रयास गरेको छु ।
मैले सिकेको छु बच्चालाई गाली गर्ने, जिस्क्याउने र निरुत्साहित गर्ने कुराले उनीहरूको मानसिकतामा नकारात्मक असर पार्न सक्छ । यसले बच्चाको आत्मविश्वाससमेत घटाउन सक्छ । बरु म मेरी छोरीलाई प्रोत्साहनका शब्द र ठूला सपना देखाएर उत्प्रेरित गर्ने प्रयास गर्छु ।
उदाहरणका लागि, जब हामी किराना पसलमा जान्छौँ, उनी फास्ट फुड किन्न चाहन्छिन् । म उनलाई भन्छु – ‘हेर छोरी ! फास्ट फुडले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्दछ भनेर फेसबुकमा अरूलाई सल्लाह दिन्छौँ । हामी आफैँले त्यो काम गर्न उचित होला त ? तिमीले पनि फास्ट फुड नखाएर अरूलाई उदाहरण दिन सक्नुपर्छ ।’
यस दृष्टिकोणले उनलाई जिम्मेवार हुन मद्दत गर्छ । साथै राम्रो छनोटहरू गर्नमा प्रोत्साहन दिन्छ । उनी सहर्ष त्यो वस्तु नकिन्ने सोच बनाउँछिन् । त्यस्तो कुराले उनलाई पछि मेरो अनुपस्थितिमा पनि गलत निर्णय लिनबाट रोक्छ भन्ने मेरो विश्वास छ । हरेक आमाबुबाले आफ्नो बच्चाको प्रशंसा सुन्न चाहन्छन् ।
यसमा उनीहरुलाई खुसी र गर्व दुवै लाग्दछ । बुबालाई अरुबाट मेरो प्रशंसा सुन्ने तीव्र इच्छा थियो । उहाँको इच्छा मैले राम्ररी बुझेको थिएँ । यो उहाँले हाम्रा लागि गरेको कडा परिश्रम र मायाको प्रमाण हो । आमाबुबाका रुपमा हामीले हाम्रा छोराछोरीको प्रशंसा गर्ने तर अहङ्कारबाट टाढा रहने बानीको बीजारोपण गर्नुपर्दछ ।
मलाई विश्वास छ, बच्चाको प्रशंसाले उनीहरूको नकारात्मकभन्दा सकारात्मक ऊर्जामा बढोत्तरी ल्याउँछ । उनीहरु हतोत्साहित होइन, थप उत्साहित हुन्छन् ।
(डा. ओम मूर्ति अनिलको हालै प्रकाशित पुस्तक ‘जीवन्त सम्बन्ध’ बाट, लेखकको अनुमतिमा प्रकाशित )