सत्ती/मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको जानकी गाउँपालिका–९ खैरीफाँटा स्थित अरुणोदय माध्यामिक बिद्यालयमा स्थापित पुस्तकालयको शनिवार उद्घाटन गरेका छन् ।
मुख्यमन्त्री शाहले गैर आवासीय नेपाली संघ नाईजेरियाको आर्थिक सहयोगमा गगन फाउण्डेसनद्धारा निर्मित विद्यालय पुस्तकालय भवन र सो भवनमा स्थापना गरिएको आधुनिक पुस्तकालय परियोजनाको उद्घाटन गरेका हुन् ।
पुस्तकालय विस्तार तथा आधुनिकीकरण परियोजना अन्तर्गत पुस्तकालय भवन र पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकालयको भवन निर्माणमा गैर आवासीय नेपाली संघ नाइजेरियाले सहयोग गरेको थियो भने, पुस्तकालय बिस्तार तथा आधुनिककरण योजनाका लागि रुपारेलिया फाउन्डेसन युगान्डा, युगाण्डाका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा.सुधीर रुपारेलिया, पदम शान्ती फाउन्डेशन बोत्स्वाना, जानकी गाउँ पालिकाले सहयोग गरेको थियो ।
नेपाल लाइब्रेरी फाउन्डेशनको प्राबिधिक सहयोगमा स्थापित पुस्तकालयका लागि साहित्यकार प्रतीक ढकाल नयनराज पान्डे लगायतका व्यक्तिहरुले पुस्तक प्रदान गरेका थिए ।
पुस्तकालय उद्घाटन कार्यक्रममा अरुणोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक कपिल राज भाटले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा उद्घाटन समारोहका प्रमुख अतिथि मुख्यमन्त्री शाह, पुस्तकालय स्थापनामा योगदान पुर्याउने सम्पूर्ण संघसंस्था र व्यक्तिहरु प्रति आभार व्यक्त गरे ।
हाल नाईजेरियामा कार्यरत विद्यालयका पूर्व विद्यार्थी गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको अगुवाईमा पुस्तकालय स्थापना भएको हो ।
थापाले पुस्तकालय स्थापनाका लागि गगन फाउण्डेसन र विद्यालयलाई सहयोग गर्ने गैर आवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउन्डेसन युगान्डा, युगाण्डाका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा.सुधीर रुपारेलिया, पदम शान्ती फाउन्डेशन बोत्स्वाना, जानकी गाउँ पालिका र पुस्तक प्रदान गर्ने व्यक्तिहरुलाई धन्यवाद दिए ।
थापाका पिताजी स्वर्गीय साहित्यकार गगन सिंह थापाको अगुवाईमा बि.स. २०२९ सालमा अरुणोदय माध्यामिक विद्यालयको स्थापना भएको हो ।