मानिसहरु आफू तनावमा रहेको कुरा सजिलैगरी भन्न सक्छन्न् म तनावमा छु । तर त्यो तनाबको सही व्यवस्थापन गर्न नसक्दा संसारमा गम्भीर खालका रोगीको संख्या थपिदै गएको छ। चिकित्सकहरु पेटमा हुने अल्सरदेखि, धेरै गम्भीर रोगको कारण बन्ने उच्चरक्तचाप, चिनीरोग देखि मतिष्कघात र पक्षघातको प्रमुख कारण तनाव बन्दै गएको बताउँछन्।
व्यस्त दैनिकी, अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक र सामाजिक अस्थिरता र अनेक प्रकारका झमेलाका कारणमा मानिसले चैनका जिन्दगी विताउन नपाउनु तनावको प्रमुख कारण रहेको मनोविद् बताउँछन् ।
तनाव भनेको के हो ?
तनाव भनेको हाम्रो वातावरणमा घटेका घटनाहरू प्रति मानिसको प्रतिक्रिया हो। यसले मानिसको शरीरको अप्ठ्यारो अवस्थालाई जनाउँछन् । तनावको बेला मांसपेशी खुम्चने, छिटो–छिटो श्वास फेर्ने अथवा मुटुको धड्कन बढ्ने, आदि जस्ता लक्षण देखिन्छन् । तनाव व्यक्तिअनुसार फरक हन्छ । व्यक्तिको क्षमता, सिकाइ, घटना तथा अरु विभिन्न कुराहरूले प्रभाव पारेको हुन्छ । तनावको सकारात्मक र नकारात्मक दुबै प्रभाव पार्नसक्छ। तनावका कारण गरिने सकारात्मक प्रयासले तनावले राम्रो परिणाम पनि ल्याउनसक्दछ ।
कस्तो अवस्थामा मानिस तनावमा हुन्छ ?
सामान्य तनाव सबै मानिसहरूमा हुन्छ र आफैं समाधान हुदै जान्छ । दैनिक जीवनमा यस्ता तनावहरू निक्कै हुन्छन् र काम पूरा भएपछि आफैं कम भएर जान्छन् । कुनै तनाव सञ्चित हुँदै जाने हुन्छ। शरीरमा पनि तनावको प्रभाव देखिन थाल्दछ, देखिएका लक्षणहरू कम गर्न कठिन हुँदैंजान्छ। यस्तो तनावको कारण गम्भीर मानसिक पीडा हुन सक्छ । त्यसैगरी, कुनै तनाव आघातको अवस्थामा वा डरलाग्दो घटनाबाट उत्पन्न हुने हुन्छ। यसले लामो समयसम्म असर गर्नसक्छ । (जस्तैः भूकम्प, आगलागी, द्वन्द्व, आदि ।)
तनावका लक्षणहरु के– के हुन?
तनावका केही लक्षणहरु जस्तै, थकान, दुखाइ र पीडा, छिटोछिटो सास फेर्नु, शारीरिक कष्ट, शरीरमा शक्ति नहुनु, निद्रामा गडबढी, मुटु काँप्ने, भोक नलाग्नु । त्यसैगरी, छटपटि, सामाजिक क्रियाकलापमा सहभागी नहुने, आक्रामक हुने। पश्चाताप लाग्ने, दिक्क लाग्ने, रिस उठ्ने, चिन्ता लाग्ने, आफूलाई दोषी ठान्ने, डर लाग्ने, चिडचिडाहट हुने, दुःखी हुने, चिन्तित हुने, निरास हुने, त्यसैगरी, अरुलाई आलोचना गर्ने, निर्णय लिन नसक्ने, ध्यानकेन्द्रित गर्न नसक्ने र आत्महत्याको सोचाइ आउने हुन्छ।
मानिस लामो समय तनावमा छ भने व्यक्तिलाई कस्तो असर गर्छ ?
हामीलाई तनाव महशुस हुदा भाग्ने वा लड्ने प्रतिकृया हुन्छ । हाम्रो स्नायु प्रणाली सचेत हुन्छ र तनाव बढाउने हर्मोन निकिन्छ । मुटुको धड्कन र स्वासको गती बढ्छ, पसिना आउछ , मांसपेशीमा तनाव बड्छ, तर लामो समय सम्म यो हर्मोन निस्कदा मस्तिस्क र शरीरलाई क्षती पुगाउँछ । काम र निर्णय गर्ने क्षमतामा प्रभाव पार्छ । सकारात्मक रहने क्षमतालाइ प्रभाव पार्छ र बर्न आउट हुन्छ।
तनावको व्यबस्थापन कसरी गर्ने ?
तनावको स्रोत पत्ता लगाउने र समाधानको उपाय खोज्ने। शारीरिक हेरचाह गर्ने, स्वस्थ जीवनशैली अपनाउने, विगतमा आफूले समस्या समाधान गर्न अपनाएका उपाय खोजी गर्ने र सफल उपायलाई निरन्तरता दिने । यस्ता थुप्रै घटनाहरू हुन्छन् जसलाई हामी नियन्त्रण गर्न सक्दैनौं भन्ने तथ्यलाई स्वीकार गर्ने । साथीहरूसँग, विश्वास गर्न सकिने र गोपनीयता राखिदिने व्यक्तिसँग कुराकानी गर्ने, घरबाहिर निस्कने, केही समयका लागि तनाव भएको स्थान छोड्ने, तनाव हुने गरी कामको जिम्मेवारी नलिने, सबै काम मैले नै गर्छु भन्ने भावना त्याग्ने, गीत, संगीत र रेडियो सुन्ने, किताब, पत्रपत्रिका पढ्ने, मनलाई शान्त पार्न आध्यात्मिक कार्य, योग, ध्यान, आरामदायी अभ्यासहरू गर्ने । खेल्ने, व्यायाम गर्ने । आवश्यकता पर्दा नाइ भन्न र सीमा निर्धारण गर्न सिक्ने । तनाव भुलाउन रक्सी, चुरोट खाने, अत्यधिक मोवाइल तथा इन्टरनेट हेर्नेजस्ता हानिकारक व्यवहार नगर्ने ।