सत्ति / टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ८५ करोड ४४ लाख १० हजारको बजेट ल्याएको छ । आइतबार भएको सभाका ज्येष्ठ सदस्य रामबहादुर नगार्जीले संघबाट प्राप्त हुने ६९ करोड ७६ लाख, प्रदेशबाट प्राप्त हुने ४ करोड ३१ लाख र आन्तरिक आयबाट ११ करोड ३६ लाख आय हुने अनुमानत बजेट पेश गरेका छन् ।
चालु र साधारण खर्च १६ करोड, नगरपालिकाको प्राथमिकताका योजनामा ११ करोड, सबै वडाका लागि छ करोड, वडामा कालोपत्रेका लागि करीब ९ करोड बजेट विनियोजन भएको बजेटमा उल्लेख छ । यस्तै शाखाहरुका लागि दुई करोड ५० लाख विनियोजन भएको छ । सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र खोल्न ४५ लाख ६० हजार बजेट विनियोजन भएको छ ।
नगरप्रमुख रामलाल डगौरा थारुले नगरपालिकाको आगामी आ.व. को नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीतिमा सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र खोल्ने, अभिभावक विहिन बालबालिका लागि आवासिय शिक्षा दिने व्यवस्था, नगरपालिकाले आगामी आवबाट सृजनशील विद्यार्थी उत्पादन गर्न हप्ताको एकदिन पुस्तक सहित शुक्रबार लागुगर्ने, स्वयंसेविकाको सम्मान गर्ने नीति लिएको छ ।
यस्तै नगरअनुदान शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारीका सेवासुविधा, खेलकुद, स्काउट लगायतका धेरैजसो कार्यक्रम दोहरिएका छन् । पालिकाले परिक्षाको विश्वसनियता र स्तरियता जस्ता आधारभूत मान्यतालाई कायम राखी कक्षा ५,कक्षा ८ लाई नगरस्तरिय परिक्षा संचालन गरी मूल्यांकन प्रर्णालीलाई बैज्ञानिक र प्रभावकारी बनाईने नीति लिएको छ ।
नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै सभा सदस्य दीपक निसानी ले जातीय विभेद अन्त्य, छाउपडी प्रथा न्यूनिकरणका लागि काम अझैँ गर्नुपर्ने बताए । सभा सदस्य भरत साउँदले नीति तथा कार्यक्रम महाभारत जस्तो भएको बताए । सभा सदस्य कैलाशपति चौधरीले लैंगिक समानता तथा अपांगता भएकाहरुको समावेशीताका लागि काम गर्नुपर्ने बताईन् । सभा सदस्य प्रेमलाल चौधरीले खेलकुद पूर्वाधार विकासमा खासै ध्यान नदिएको गुनासो गरे । सभा सदस्य गणेश घर्तीमगरले अपांगता भएका क्षेत्रमा प्राथमिकता दिन आवश्यक रहेको बताए । सभा सदस्य कमला विश्वकर्माले सभाका नाममा गरिने खर्च घटाउन माग गर्दै नीति तथा कार्यक्रम अध्ययनको समय दिनुपर्ने, क्याम्पस जस्तो किताब थमाउने, पढ्ने समय नदिने कार्य सही नभएको बताइन् ।सभामा सभा सदस्य मञ्जु विकले साना किसान सहकारी व्यवस्थित गर्नेबारे बोलेकि थिइन् ।