लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कालु सिंह ‘परियार’हरुसँगै बाँचिरहेको एउटा मीठो धुन

सम्झनाका खातहरूले भरिएको मनसँगै झोलामा सेक्सोफोन बोकेर यात्रारत छन्, उनी। कतै समय मिल्दा होस् वा कसैले बजाउन अनुरोध गर्दा झोलाबाट बाजा निकाल्छन् र सुनाउँछन् सुमधुर धुन।

यायावर जिन्दगी बाँचिरहेका अनि भावुकताले भरिएको मनसँगै सिर्जनशील पाइलाहरू गतिशील बनाइरहेका कलाकार हुन्, डडेलधुराका ८० वर्षीया कालु सिंह परियार।

वर्तमानले झक्झकाइ रहन्छ, गर्नुपर्ने काम अझै बाँकी नै छन् भनेर। बेलाबखत स्मृतिपटलमा निकै नै प्रिय बनेर झुल्किरहेकै हुन्छ विगत। जात्रामा हातमा तरवार लिएर खेलिने चौलो नृत्यझैँ उधुम मच्चाउँछ कहिलेकाहीँ त्यही सम्झनारुपी विगतले।

१४ वर्षको उमेरमा घर छोडेर भारतको बाटो भएर ‘नैपाल’ पुगेको सम्झना उस्तै छ। त्यही ‘नैपाल’मा उनले बजाएको धुन सुनेर प्रेम प्रस्ताव गर्नेहरु पनि थुप्रै थिए।

तर, श्रीमती शिवाय कसैले तान्न सकेनन् उनको मन। श्रीमतीले पनि परलोकको यात्रा गरेको ३ वर्ष पुगिसक्यो। साथको मान्छेले छोडेर जाँदाको पीडा बोल्ने शब्द छैनन् उनीसँग। त्यसैले त भनिदिन्छन्, ‘खै के भनुँ, यो दिललाई थाहा छ।’

एक्लै बसेको बेला बादलभित्र उनको मुहार हेर्न खोज्ने उनी राति सपनीमा आइदिए हुन्थ्यो भन्ने ठान्छन्। तर, विछोड भएको दिनदेखि आजका मितिसम्म देखेका छैनन् रे सपनीमा पनि।

हिजोआज ठाउँठाउँमा राजनीतिका कुरा गरिरहेका मान्छेहरू भेट्छन्। रेडियोमार्फत सरकारका काम र नेताहरूका नाममा बज्ने समाचार सुन्छन्। अनि सम्झिन्छन् आफूले मुटुको एक कुनामा सजाएको मुहार र स्मृतिपटलमा राखेको उही नाम भीमदत्त पन्त।

‘भीमदत्त पन्तको के कुरा गर्नु, त्यस्तो नेता अहिलेसम्म जन्मेकै छैन। गरीब र अन्यायमा परेकाहरूका लागि भगवान नै थिए। हामीलाई परेड खेलाउँथे। हाम्रो जातिका मान्छेहरूसँग म छु चिन्ता नगर भन्थे। त्यतिबेलाको समय, ब्राह्मणको छोरो हामीसँगै बसेर खाने। छुवाछुतको विरुद्धमा बुलन्द आवाज निकाल्ने उनै त थिए,’ कुरा गर्दागर्दै भावुक हुन्छन् उनी।

कालुसिंहका अनुसार त्यहाँका बिष्टहरूले मन पराउँदैन थिए भीमदत्तलाई। मगर, गुरुङहरुले भने निकै नै साथ दिए। समाजमा अन्याय, अत्याचार गर्ने शोषकको भागाभाग भयो। पछि भीमदत्त सेनाको संख्या बढाउन कञ्चनपुरतिर हिँडे। गाउँघरतिर कृषि क्रान्ति गरे। ‘जसको जोत उसको पोत’ भन्ने उनको नारा नै थियो।

डडेलधुरा खलङ्गामा बस्ने दमाईहरूले बाजा बजाउन मात्र नभएर लुगा सिलाउने काममा समेत ख्याति कमाएका थिए। कालुसिंहका बुवा राइसिंलगायत दुईचार जना मेसिन बोकेर बुडर पुग्थे। बुडर त्यही ठाउँ हो, जहाँ भीमदत्तको शीर छेदन गरिएको थियो। उनीहरू कैलालीको बुढीतोलासम्म पुग्थे लुगा सिलाउन। लुगा सिलाएबापत कमाएको पैसा र अनाज बोकेर घर फर्किन्थे।

यसरी बुडर पुगेको बेला एकपल्ट राइसिंले भीमदत्तका कपडा सिलाएका रहेछन्। त्यो जानकारी पाएर डोटीबाट आएको पुलिसको फौजले राइसिं दमाईलगायत चार जनालाई पक्रेर मेसिनसहित डोटी जेलमा राखेछ। पछि समाजसेवी बृजलाल ठकुराठीले आफ्नो सीप बेचेर गुजरा चलाइरहेका यी दमाईहरूलाई थुन्ने काम राम्रो भएन भन्दै भनसुन गरी छुटाएर ल्याएछन्।

भीमदत्तको टाउको झुण्ड्याएको ठाउँमा केही वर्षपछि गणेश मन्दिर बनाइएको कुरासमेत सम्झिन्छन् उनी। हाल उक्त मन्दिर भत्किसकेको छ। २०१४ सालमा सुदूरपश्चिमको भ्रमणमा निस्केका राजा महेन्द्रको स्वागतमा डडेलधुरा खलङ्गाका दमाईहरु लस्करै निस्के। उनीहरूका नाइके थिए, कलुवा दमाई। कालुसिंह उनका दाइ रतनसिं र मानसिंले बाजा बजाउनुका साथै नृत्य प्रस्तुत गरे।

उनीहरुको कला देखेर खुसी भएका राजा महेन्द्रले सोधेछन्- काठमाडौँ जान्छौँ?

कालुसिंहका दाइ रतनसिं आफू मात्र मञ्जुर भएनन्, भाइ मानसिं र कालुसिंहलाई पनि लग्न भने। राजाको आज्ञाबमोजिम राजाको पछिपछि हिँड्ने जमातसँगै पुगे धनगढी। धनगढी पुगेर राजा हवाइजहाजबाट गए अनि उनीहरू भारतको बाटो हुँदै पुगे उतिखेर मध्य तथा सुदूरपश्चिमबासीले नैपाल भनेर चिन्ने गरेको काठमाडौं।

राजाको आदेश थियो। तीनै भाइ सिधै सेनामा भर्ती भइहाले।

१५ वर्षसम्म सैनिक ब्यारेकमा बाजा बजाउने काम गरे। रतन सानै छँदा गाउँघरमा बाँसुरी बजाउँथे। उनका भाइ मानसिं र कालुसिंह पनि गायन र संगीतको गोरेटोमा यात्रारत नै थिए।

काठमाडौँमा ती तीनै भाइले शुकबहादुर र मनश्याम बैजुसँग बाजा बजाउन सिके।

‘सेनाभित्र बाजा बजाउनेहरू धेरै नै थिए। गणमा बिहान-बेलुकी बिगुल बज्थ्यो। विशेषतः दसैँ तिहारमा र बाह्य राष्ट्रका प्रमुख वा उच्च ओहाेदाकाहरू आउँदा बजाउनुपर्थ्यो। ती दिन पनि गज्जबकै थिए’, कालुसिंहसँग सम्झनाहरू ताजै छन्।

हिन्दी फिलिमका पात्र अकबर, अम्बर, एनथोनीजस्तै बनेका तीनै भाइ मदहोसी थिए। आफ्नै मस्तीमा जिन्दगी गुजारिरहेका थिए।

सेनामा जागिर खाएको १५ वर्षपछि एकदिन तीनै भाइले सल्लाह गरेर एकैपल्ट राजीनामा दिए।

डडेलधुरा फर्किएर तीनै भाइले केही समय सांगीतिक कार्यक्रम चलाए। राम लिला लगाए। घरधन्दा गरेर जीवन बिताउन थाले।

केही वर्षपछि डडेलधुरा छोडेर बर्दिया राजापुर हानिए तीनै जना। बर्दियामा पनि ‘कालुमान ब्याण्ड’ चल्यो। ब्याण्डले छोटो समयमै ख्याती कमायो। विभिन्न कार्यक्रममा बाजा बजाउन बोलाउन थालियो।

बर्दिया, नेपालगञ्जलगायत भारतको लखनउ र कानपुरबाट समेत बोलाइन्थ्यो उनीहरूलाई।

२०४० सालमा तत्कालीन डिआइजी रणबहादुर चन्दले मानसिंलाई नेपालगञ्ज बोलाएर नेपाल प्रहरीको असइ पदमा भर्ना गरिदिए। अनि मानसिंले कालुसिंहलाई घरपरिवार हेर्न पठाए।

केही वर्ष घरपरिवारसँगै बसेर कालुसिंहले त्यो काम फेरि सम्हाले।

बाजा बजाउँदा दमाई भनेर हेप्ने, रक्सी खाएर अभद्र व्यवहार गर्नेदेखि ‘ए, फलानो धुन बजा’ भनेर हेपाह शैलीमा बोल्नेहरूदेखि दिक्दार भएका उनी २०६६ सालमा गुजरात गए। एकजना नेपालीले उनलाई त्यहाँको चर्चित ब्याण्डवालाकहाँ पुर्‍याइदिए।

पारिश्रमिकको टुङ्गो लागेपछि कुराकानीकै क्रममा उनीसामु ६ महिनासम्म काम छोड्न नपाइने शर्त तेर्स्याइयो। उनी मञ्जुर भए। ६ महिना के उनले त्यहाँ दश वर्षै काम गरे।

त्यसपछि गुजरात छोडेर उनी पुगे, बैङ्लोर। जहाँ कामको खोजीमा भौँतारिने क्रममा बाजा बजिरहेको ठाउँमा पुगे। नजिकै गएर हेरे। आँगनमा लाश थियो। छेवैमा बाजा बजाइरहेका थिए। उनले थाहा पाए, यहाँ मान्छे मरेको ठाउँमा पनि बाजा बजाउँदा रहेछन्!

त्यतिबेलै बाजा बजाउनेमध्ये एक जनाले कालुसिंहलाई सोधे, ‘कहाँ के हो? क्या देखरहे हो?’

कालुसिंहले भनेछन्, ‘मै नेपाल से हुँ। मै भि कलाकार हुँ।’

त्यसपछि ती व्यक्तिले आफ्नो फोन नम्बर र ठेगाना दिएर भनेछन्, ‘कल मिलना…।’

दोश्रो दिन त्यही ठाउँमा कालुसिंहले ती मान्छे भेटे। कामको कुराकानी भयो। एउटा कार्यक्रममा बजाएको दुई हजार पाउने गरी पारिश्रमिक तोकियो। 
तर कालुसिंहले भने ‘मान्छे मरेको ठाउँमाचाहिँ बजाउँदिनँ…।’

शर्त मञ्जुर भयो। कालुसिंह फेरि जागिरे भए।

अब,
श्रीमती र दाइहरूले धर्ती छोडिसके।

आर्मीमा भर्ना हुँदा मासिक १४ रुपैयाँ तलब बुझ्ने कालुसिंहलाई चिनाउने त्यही एउटा बाजा हो, सेक्सोफोन।

जागिर छोडेपछि बाजाविहीन भएका उनले २०३४ सालमा ऋणकर्जा गरेर त्यो बाजा किने।

अचेल त्यही बाजा झोलामा बोकेर हिँड्छन् उनी, त्यो साथी पनि हो कालुसिंहको। बाँकी जीवनको सहयात्री पनि।

बाजा पुरानो भएर के भो, धुन कहिल्यै पुरानो हुँदैन!

रहर अझै मरेको छैन। मनले सधैं जसो खोजिरहेकै हुन्छ नयाँनयाँ धुन सिर्जना गर्न। आफूले आर्जेको ज्ञान सीप युवा पिँढीलाई सिकाएर जान पाए हुन्थ्यो भन्ने कुराले सताइरहेकै हुन्छ। कसैले त्यस्तो वातावरण तय गरिदिए हुन्थ्यो भन्ने ठान्छन् कालुसिंह।

नेताहरूको चाकडी गर्नुपर्ने, राजनीतिक दलको सदस्य बन्नुपर्ने मुलुकमा कालुसिंहजस्ता प्रतिभाहरू ओझेलमा परिरहन्छन्।

यहाँका सरकार र सरकारका प्रज्ञाप्रतिष्ठानहरूसँग कालुसिंहजस्ता कलाकारहरूको नाम हुने कुरै भएन।

आठ दशककाे उमेर बाँचिरहेका कालुसिंहको ज्यान अहिले पनि जीवनको त्यही उकाली-ओराली गरिरहकै छ, सम्झना र कल्पनाका त्यही एउटा धुन बोकर…।

साभार : breaknlinks.com


प्रकाशित : २०८१ पुष १० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!