कैलालीको गाेदावरी नगरपालिका-१ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेकाे अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयाेग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जनिनेगरि पुरस्कृत गरेकाे हाे । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् ।
राणाले प्रहरी चाैकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेकाे अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।
देउवाले मंगलबार गाेदावरी नगरपालिका-१ काे बसन्तपुरमा सडकमा छटपटाइरहेकाे अवस्थामा भेटिएकी बझाङकाे थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन् ।
देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुगाएकी थिईन् ।
देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारवाहीकाे दायरामा ल्याइने बताए ।