जातीय विभेद र सामाजिक अपमानको शृंखलाबीच पनि आत्मबल र अठोटको उदाहरण बनेकी छिन् डा. स्मृति हरिजन। चमार, डोम, मुसहर र बादी समुदायबाट नेपालकै पहिलो महिला चिकित्सक बन्न सफल डा. हरिजनले आफ्नो उपलब्धिले हजारौँ युवतीहरूलाई प्रेरणा दिएकी छिन्।
कपिलवस्तुको बहादुरगञ्ज निवासी सन्तराम गौतम हरिजनकी कान्छी छोरी स्मृति नेपाल सरकारको छात्रवृत्तिमा जानकी मेडिकल कलेज, जनकपुरबाट एमबीबीएस पास गरेकी हुन्। उनी चिकित्सक बन्ने सपना बोकेर लामो समयदेखि संघर्षरत थिइन्। उनको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई, सामाजिक रुपान्तरणको संकेत पनि हो।
विगतमा अछूत ठहरिएका समुदायबाट पहिलो महिला डाक्टर बनेर उनले शिक्षा, आत्मबल र अवसरले जीवन बदल्न सकिने पुष्टि गरेकी छिन्। उनको नाम अब चमार, मुसहर, बादी समुदायका छोरीहरूको प्रेरणास्रोतको रूपमा स्थापित हुँदैछ।
उनको सफलतामा नेपाल सरकार, शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोग (UGC) को छात्रवृत्ति कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ। साथै, निरन्तर साथ दिने सामाजिक सञ्जालका समर्थकहरू र परिवारजनको योगदान स्मरणीय छ।
डा. स्मृति अब सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा समर्पित भएर काम गर्न चाहन्छिन्। समाजका पीडित र सुविधाबाट बञ्चित वर्गहरूलाई उनले आफ्नो सीप र ज्ञानबाट सेवा गर्ने अठोट लिएकी छिन्।