खक्राैला / टिकापुर नगरपालिका वडा नम्बर ९ खक्राैलामा सडक बत्ती जडान गरिएको छ ।
नेपाल भारत सिमा संगै रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म देखि माेहना नदि पुल सम्ममा बत्ती जडान गरिएको हो । सडक बत्ती जडान टीकापुर नगरपालिका वडा नम्बर –६ स्थित सामुदायिक सहकारी संस्था लिमिटेड सत्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सामुदायिक सहकारी सत्तिका सचिव कृत बहादुर ठकुल्लाले जानकारी दिए।
सहकारीका सचिव ठकुल्लाका अनुसार नेपाल प्रवेश गर्ने कैलाश मानसरोवर प्रवेशद्वार हुँदै मोहना नदिकाे पुलसम्म सेन्सर जडित आठ वटा सडक बत्ती जडान गरिएको हो । साे क्षेत्र भएर भारत नेपाल आउने जाने क्रममा रातिको समयमा यात्रु र जंगली जनावरकाे जम्काभेट हुने गरेको र यसबाट हुनसक्ने सम्भावित जाेखिम कम गर्न सघाउ पुग्ने उनको भनाइ छ ।
सशस्त्र प्रहरीको क्याम्पकाे जंगली क्षेत्रका स्थानहरूमा बत्ती जडान गरिएको उनले बताए।
सीमा नाका क्षेत्र थप सुरक्षित बनाउने र हिँडडुल गर्ने यात्रुलाई रातिको समयमा सहज रूपमा आवतजावत गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीले बत्ती जडान गरेको सामुदायिक सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेतले बताए।
सहकारीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको आवश्यकता पहिचान गरी उक्त कार्य अघि बढाइएको भन्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने सहकारीका अध्यक्ष बस्नेतले बताए । १६ हजार रुपैयाँको लागतमा ८ वटा सेन्सर सहितको बत्ती जडान गरिएको बताइएको छ ।
सडक बत्ती जडान भए पछि रातिको समयमा सशस्त्र प्रहरीलाई गस्ती ,पट्राेल गर्न अझ सहज हुने सशस्त्र प्रहरी बल नेपाल खक्राैला गुल्मका गुल्मपति डिएसपी देवराज विष्टले बताए ।
सिमा क्षेत्रकाे सडक र पुलमा सडक बत्ती जडान गरे सँगै सुरक्षा व्यवस्था समेत मजबुत हुने विस्वास स्थानीय बिरु बाेहराले व्यक्त गरेका छन्।



समाचार
