धनगढी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताएका छन् ।
आज ( साेमबार)धनगढी विमानस्थलमा पत्रकार सँग कुराकानी गदै उनले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताएका हुन् ।
‘मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन । जनयुद्ध लाई संविधानसभामा ल्याउन ठिक थियो कि थिएन ?,’ प्रचण्डले प्रश्न गरे ।
उनले अगाडि भनेका छन्, ‘म चाहेँ कतारमा जाँदा होस्, चाहे मलेसियामा जाँदा सयौंसयौंमा जनयुद्ध मा सहभागी लडाकुहरू बडो दुःखपूर्ण जीवन बिताएका थिए । मैले जतिलाई भेटेँ उहाँ त्यस्तो दुःख गरेर पनि उहाँहरूले मलाई भन्नुहुन्थ्यो, कमरेड फेरि पनि तपाईंलाई असजिलो पर्यो भने भन्नुस् हैँ हामी बिग्रिएका छैनौं, विचलित भएका छैनौं । देशको निम्ति, राष्ट्रको निम्ति शान्तिमा आउनै पथ्र्यौं, समावेशीतासँग सबै उत्पीडित वर्गले केही न केही हक अधिकार पाएका छन भनेर गर्व गरेर बसेको पक्ष पनि छ । बर्बाद पार्यो माओवादी पार्टीले शान्तिमा ल्याएर भन्ने पनि छन् ।’
जनयुद्धमा महिलाले वीरता र कीर्तिमान कायम गरेको कुरा पनि रहेको प्रचण्डले स्मरण गराए ।‘महिलाको हिजो जनयुद्धको बेलामा वीरता र त्यसका कीर्तिमान कायम गरेका कुरा पनि छ । राज्यका तर्फबाट गरिएका दमनका पक्ष पनि छन्,’ उनले भने, ‘यो विषय मेरो विचारमा अहिले उत्तेजित कोही हुनुपर्ने छैन । पक्षविपक्ष, तर्क वितर्क हुन्छ त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ । यो हामी गइसकेपछि पनि सयौं वर्षसम्म रहन्छ ।’
सशस्त्र युद्धमा सहभागी महिला छापामार देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओवादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेतावनी दिएका छन् ।