निर्वाचन आयोग स्थानीय तहको चुनावी दिन गन्तीमा छ । चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै दलहरु सघनरुपले गृहकार्यमा लागिसकेका छन् । निर्वाचनको घोषित मिति आउन तीन हप्ता मात्र बाँकी छ। पदका आकांक्षी टिकट ल्याउने दाउमा लागेका छन् । कांग्रेस ‘घर–घर जाऔं, कांग्रेसलाई जिताऔं’ नारा लिएर गाउँगाउँ प्रवेश गरिसकेको छ । यो चुनावमा ‘गठबन्धन’ जारी रहन्छ कि रहँदैन भन्ने अन्यौल छ । अघिल्लो स्थानीय तहको चुनावभन्दा यसपालिको प्रतिस्पर्धा कडा नै हुने स्पष्ट छ । किनभने पाँच वर्षे स्थानीय सरकारको कार्यकालले आकर्षक सन्देश दिएको छ, स्थानीयतह मा जसरी साधन–स्रोत पुगेको छ, त्यो दृश्यबाट राजनीतिमा लागेका कार्यकर्ता दह्रै सँग लोभिएका छन् ।
स्थानीय पदाधिकारी बन्नमा भविष्य देखिरहेका छन् । हुन पनि पहिलो पाँच वर्षे कार्यकालमै स्थानीय तहका पदाधिकारीको भडकिलो रवाफ र चम्किलो अनुहारले सबलाई लोभ्याएको छ । तसर्थ यसपालि स्थानीयतहमा पदाधिकारी बन्न स्वस्थ अस्वस्थ दुवै खाले होडबाजी चल्ने निश्चित छ ।
पाँच वर्षे स्थानीय सरकार सञ्चालित हुँदा कतिपय स्थानमा राम्रैसँग कार्यसम्पादन भएको छ भने कतिपय ठाउँमा विवाद पनि आए । स्रोतसाधनको दोहन गर्नेमा कुख्याति कमाएका पात्रलाई किनारा लगाउनुपर्ने बेला हो यो चुनाव । तिनका खराब क्रियाकलाप माथि बहस चलाउन आवश्यक छ ।
हामी कहाँ निर्वाचन केवल कुनै व्यक्ति चुन्ने औपचारिकतामा सीमित हुँदैछ । चुनावी मैदानमा कस्ता व्यक्ति उम्मेदवार बन्दैछन् भन्ने तथ्य मतदाता ले हेक्का राख्नुपर्छ । जातिय, भेकिय ,धार्मिक नारा लगाउने नैतिकरुपमा खराब–आर्थिकरुपमा भ्रष्ट व्यक्ति कुर्सीमा पुगेमा नागरिकले समस्या खेप्नुपर्ने भएकोले मतदाता चनाखो हुन आवश्यक छ । त्यसो हुँदा नयाँ अनुहारका सम्भावना देखाएका उम्मेदवारलाई मत दिनुपर्छ कि तिनले स्थानीय तहलाई दह्रैसँग संस्थागत शासकीय प्रक्रियामा लैजाऊन् ।
चुनावसँगै कस्ता पात्रलाई उम्मेदवार बनाइन्छ भन्ने हेक्का जनताले राख्नुपर्नेछ । नेताका वरिपरिका, तिनका कोटका खल्तीका पात्रलाई जबर्जस्त उम्मेदवार बनाउने प्रवृति दलभित्र छ । सबै जसो दल भित्र ‘टिके प्रथा’ले विकृतिलाई संस्थागत गराउँदै लगेको छ । अब टिके होइन र जनअपेक्षा पुरा गर्ने उम्मेद्वारलाई किन उम्मेदवार चयन नगर्नेे ? नेताका ढोका धाउने र नेतालाई खुसी पार्नुपर्ने जनताको दुखसुखलाई बेवस्ता गर्नेलाई वाईवाई गर्ने बेला पनि हो यो । चुनावका बेला गठबन्धनको नाममा नेतामुखी उम्मेद्वार भन्दा कार्यकर्ता बीचकै प्रतिस्पर्धाबाट राम्रा मानिसलाई उम्मेदवार बन्न दिनेतिर सोच्ने हो कि ?