✏️… चित्रबहादुर चौधरी /
बुधबार र शनिबार हाम्रो यतातिर हाटबजार लाग्छ तरकारीको।पशु हाटबजार भने मङगलबार मात्र।आज शनिबार,छुट्टी छ।म मात्र होइन बाबा पनि छुट्टीमा हुनुहुन्छ।बिहानै ‘होम वर्क’ भ्याएर म अझै फुर्सदिलो भएको छु।आमालाई भने सायदै फुर्सद हुँदो हो।साताभर लाएर थन्किएका कपडा धुनबाट मुक्ति पाउनु भनेको आमाका लागि कमैया मुक्ति जत्तिकै महान् उत्सव हुन्छ।हामी फुर्सदमा भए पनि आमा बेफुर्सदमा हुनुहुन्छ आज पनि।
“आज शनिबार।केही नयाँ तरकारी लिएर आउनुस्।मुख फेर्न पाए हुन्थ्यो।”आमाले बिहान भन्नुभएको थियो।घाम अलिक सेलाउन थालेपछि हामी बाबुछोरा हाटबजारतिर लाग्यौं।कोही गेटबाट बाहिरिँदै थिए,कोही भित्रिँदै थिए।हामी भित्रिनेमा पर्यौं।
प्लास्टिकको ओछ्यानमा लमतन्न सुतिरहेका थिए सानाठूला माछाहरू।केही चुलेसीमा रेटिँदै थिए।माछा खुइल्याएको र काटेको हेर्दा बेग्लै खुसी लाग्ने। मैले बाबाको मुखमा हेर्दै भनें-“बाबा, माछा लैजाउँ है!”
बाबाले माछाको मोलमोलाइ गर्नु भयो र साहुजीलाई एक सय रुपैयाँको नोट थमाउदै भन्नुभयो-“अलि महङ्गो भएन र भाइ?”
“खरिदै महङ्गो पर्छ सर।किलामा पाँचदस खानै पर्यो।” माछा साहुले सहजै जवाफ फर्कायो।बाबाले थप केही भन्नुभएन।एक पाउ माछा राखेको झिल्ली समातेर म बाबाको पछिपछि लागेँ।केही पर चना चटपटेको ठेला थियो।ठेलामा बाँधिएको डोरीमा तुर्लुङ्ग झुन्डिएको थियो ‘मेघाश्री’को लहरो।बाबाले तीनवटा पुरिया चुँड्नु भयो र बीस रुपैयाँ ठेलामा राखिदिनु भयो।
एउटा टहरोको कुना लागेर नास्ता पसल थापिएको रहेछ।कोही जिलेबी तार्दै थिए भने कोही सेल।कोही समोसा र पकौडा।अनि कोही चाउमिन फड्कार्दै थिए।राताराता जिलेबीले मेरो जिब्रो निचर्दै थिए।
बाबाले एउटा मेघाश्रीको पुरिया च्यात्नु भयो र मुखमा खन्याउनु भयो।मरक्मरक् चपाउनु भयो र प्याच्च थुक्नु भयो।अगाडिको पसलमा ताजा देखिने ‘बेम्टी'(लामो जरो हुने जंगली च्याऊ) थियो।बाबा त्यतै लाग्नुभयो।मोल सोध्नु भयो।
“दुई सयमा एक पाउ हजूर!” साहुनीले भनी।
“आमाम्मा!यो त खसीभन्दा महङ्गो भयो।सात सयमा त खसीको मासु नै आउँछ।” बाबाले जिब्रो टोक्नु भयो।
“खसीको मासुमा हाड हुन्छ सर!यसमा हुँदैन।अनि फेरि मासु सधैं पाइन्छ च्याउ सधैं कहाँ पाइन्छ र?”उसले तर्क झिकी।
नकिन्ने भन्दै हामी अघि बढ्यौं।बाबाले मेघाश्रीको अर्को पुरिया च्यात्नु भयो र अघिजसरी मुखमा खन्याउनु भयो।
हाटघरको एक फन्को मार्दानमार्दै बाबाका तीनै पुरिया मेघाश्री सकिए।उहाँले चालीस रुपैयाँँ दिँदै मलाई किन्न पठाउनु भयो।सामान ल्याएर आउँदा उहाँ निउरो छानिरहनु भएको थियो।
“कसरी हो यो?”
“दसको एक।”
“सुनभन्दा महङ्गो भएन र?”
“सरको औँठीसित साटौँ न त !सरको एउटा औँठी र मेरो सबै साग।”साहुनीले हँसाउनु हँसाई।
दुई मुठा साग लिएर हामी हिँड्यौँ।मलाई भने अघि देखेको जिलेबीले तानिरहेको थियो।मेरै उमेरका केटाकेटी चिसोचिसो आइसक्रीम चुस्दै हाम्रै छेउ भएर गए।घुटुक्क थुक निलेको आफैले पत्तो पाइनँ।
“बाबा!आइसक्रीम किन्दिनुस् न।कस्तो गर्मी भो?”मैले सविनय निवेदन चढाएँ।
“ज्यादै गर्मी भए जा जमरामा गएर नुहा।कति महङ्गो छ यो आइसक्रीम तँलाई के थाहा?” बाबाले हकार्नु भयो।तर,फेरि मेरो टाउको मुसार्दै बीस पर्ने एउटा आइसक्रीम किनिदिनु भयो। आफूले मेघाश्रीको अर्को पुरिया फेरि फँक्याउनु भयो।म एउटा हातमा तरकारीका दुई पोलिथिन झिल्ली हल्लाउँदै उहाँको पछिपछि लागें।
मेरो महङ्गो आइसक्रीम आधा बाटोमै सकियो।उहाँको मेघाश्री भने धन्न घरसम्म पुगेछ।
**** **** ****