विनय चाैधरि /मालपोत कार्यालय टीकापुरबाट गएको आर्थिक वर्ष २०७८/०७९ मा २८ करोड, ७३ लाख रुपैया राजश्व संकलन भएको छ ।
११ हजार ३९३ ओटा लिखत पास भएका मालपोत कार्यालय टीकापुरले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ लाख बढी रकम हो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८ करोड, ४१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
गएको आर्थिक वर्षमा रजिष्ट्रेशन शुल्कबाट १९ करोड, ६२ लाख, ७ हजार, पुजिगत लाभकरबाट ८ करोड, ८४ लाख, २७ हजार, अग्रीम आयकर बाट २० लाख, २१ हजार र विविध कर तथा दस्तुर बाट ६ लाख, ५२ हजार रुपैया गरी जम्मा २८ करोड ७३ लाख रुपैया राजश्व संकलन भएको मालपोत कार्यालय टीकापुरका सूचना अधिकारी सर्बानन्द चपाईले जानकारी दिए । चपाईका अनुसार मालपोत कार्यालय टीकापुरबाट गएको आर्थिक वर्ष २०७८/०७९ मा राजीनामा लिखत संख्या ५ हजार, ८९२ र दृष्टिबन्धकको लिखत संख्या ५ हजार ५०१ गरी जम्मा ११ हजार ३९३ लिखत पास भएका छन् ।
नेपाल सरकारले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ लागु गरी स्थानीय तहलाई जग्गा वर्गीकरण गरेर मात्र कित्ता काट गर्न भनेको र सोही अनुसार स्थानीय पालिकाले काम गर्न नसकेका कारण कित्ताकाट हुन नसक्दा राजश्व संकलन कम देखिएको छ । सरकारले ल्याएको साे नीति अनुसार स्थानीय तहले काम गर्न सकेको भए अझै राजश्व संकलनमा वृद्धी हुने सूचना अधिकारी चपाईले बताए ।
मालपोत कार्यालयबाट संकलन भएको राजश्व मध्य पूजिगत लाभकर, अग्रीम आयकर र सेवा शुल्कको रकम संघिय सरकारमा र अन्य बाँकी राजश्वको ४० प्रतिसत प्रदेश सरकार र ६० प्रतिसत स्थानीय सरकारलाई जाने व्यवस्था गरिएको छ ।