काठमाडौं / नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार (भदौ ३०) बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ । मोबाइल फोनको अनधिकृत आयात रोक्न यो प्रणाली ल्याइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बिहीबार एक कार्यक्रम आयोजना गरी प्रणालीको सफ्ट लन्च गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले एमडीएमएस को वेब पोर्टलमा लग इन गरेर प्रणालीको उद्घाटन गरे । ‘म चार वर्षअघि अर्थ मन्त्रालयमा छँदा यो प्रणाली प्रारम्भ गरेको थिएँ,’ उनले भने, ‘आज उद्घाटन गर्ने अवसर मिल्यो । यसलाई प्रभावकारी र समृद्ध बनाउने काम गरियोस् ।’
नयाँ मोबाइल सेट प्रणालीमा दर्ताका लागि अनलाइन सुविधा दिइएको प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले बताए । गैरकानुनी आयात र बिक्री वितरण रोक्ने उद्देश्यले एमडीएमएस प्रणाली ल्याइएको हाडा बताए । ‘यसबाट हराएका वा चोरी भएका फोनको ट्रयाकिङ र ब्लकिङ गर्न सकिन्छ’ उनले भने, ‘साथै अवैध रूपमा भित्रिएका फोनको सेवा बन्द गराउन सकिन्छ ।’ हाल बजारमा ५० प्रतिशत फोन अवैध रूपमा भित्र्याइने गरेको बताइन्छ । यसले गर्दा सरकारलाई बर्सेनि करोडाैं रकम राजश्व नोक्सानी भइरहेको मोबाइल व्यवसायीको भनाइ छ ।
एमडीएमएस प्रणाली लागू भएपछि विदेशबाट ल्याइएका फोनहरूको आईएमईआई नम्बर दर्ता नगरी ती फोन चल्दैनन् । भदौ ३० सम्म आयात गरिएका मोबाइल फोनको आईएमईआई नम्बर प्राधिकरणले स्वतः दर्ता गरिदिएको छ । ‘भोलिबाट आयात गरिने फोनको हकमा अनिवार्य आईएमई आई नम्बर दर्ता गर्नुपर्छ,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘यो प्रणालीले मोबाइल सम्बन्धी विषयमा उपभोक्ता, व्यवसायी, नियामक सबैलाई सहज बनाउने छ ।’
प्राधिकरणको वेभसाइटमार्फत् वा एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा गएर आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । एमडीएमएस लागू भएकोमा मोबाइल व्यसायीले खुसी व्यक्त गरेका छन् ।