विनोद चाैधरि,सत्ति /टीकापुर ७ को सत्तिमा रहेको पुरातात्विक महत्व बोकेको पदम प्रकाशेश्वर महादेव मन्दिरको आयोजनामा भएको महायज्ञको आयव्यय सार्वजनिक भएको छ । सोमबार सत्तिमा सार्वजनिक सुनुवाई कार्यक्रममा महायज्ञबाट ५० लाख ५ सय ९ रुपैयाँ संकलन भएको जानकारी गराइएको छ । यसैगरी महायज्ञ संचालनका लागि जम्मा खर्च १८ लाख ३८ हजार २ सय ८९ रुपैयाँ भएको जनाइएको छ । महायज्ञबाट बाँकी उठ्नुपर्ने रकम नगदी रसिदबाट १ लाख ४७ हजार ६ सय ८४ रुपैयाँ, जग्गा दान रसीदबाट ४ लाख ८० हजार २ सय ३९ रुपैयाँ, प्रतिवद्धता जनाएको रकम १५ लाख ७ सय २० रुपैयाँ रहेको जानकारी गराइएको छ ।
मन्दिरको जिर्णाेद्वार भएको १११औं वार्षिकोत्सवकाे अवसरमा आयोजित श्रीमद् भागवत भक्ति संत्संग अनुष्ठान २०७९ महायज्ञ गरिएको थियो । भगवान पर्शुरामले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो, पुर्वाभिमुख भएको विश्वकै दुर्लभ शिवलिङ्ग रहेको पद्म प्रकाशेश्वर महादेव मन्दिरको आयोजनामा १११ वर्ष पछि महायज्ञ गरिएको हो ।
प्राचिनकालमा पद्म कुमारि महारानीले मन्दिरका नाममा सात सय विघा जमिन छुट्टयाइएको यहाँका धार्मिक अगुवाहरुले बताए पनि पछि क्रमिक रुपमा उक्त जमिन अतिक्रमित भएको बताइन्छ । हाल मन्दिरको ढाई कट्ठा जमिन मात्र रहेको छ ।
मन्दिरका लागि उक्त जमिन अति न्युन भएपछि मन्दिर परिसरमै जोडिएको थप ५ कट्ठा जमिन खरिद गर्न महायज्ञ गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिए । उनले जमिन खरिदका लागि नरकान्त जोशीसँग पाँच लाख बयाना बापत बुझाईसकेको बताउँदै बाँकी १ करोड बैशाख महिना भित्र उठाएर बुझाउने प्रतिवद्धता जनाएका छन् । महायज्ञमा गुरु मुमुक्षु श्री उदुव शर्मा र आचार्य सुश्री अनुराधा देवीजीले प्रवचन दिएका थिए । मन्दिरका अध्यक्ष विदुरलाल कायस्थको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गुरु श्री ऋषिराज आचार्य रहेका थिए भने विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा न ७ का वडाध्यक्ष यज्ञ न्यौपाने, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाट, अक्षयकोषदाता मोहन बहादुर शाह रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गरु श्री ऋषिराज आचार्यले महायज्ञ जुन उद्देश्यले संचालन गरिएको थियो त्यो पुरा गरेर छोड्ने बताउँदै महायज्ञबाट संकलन भएका रकम खेर जान नदिने बताए ।
कार्यक्रममा मन्दिर संरक्षण समितिका कोषाध्यक्ष दिनेश कुमार बैद्यले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन समितिका सचिव भिम वि.क.ले गरेका थिए ।