विनोद चाैधरि / टीकापुर, ‘मजदुर शोषण गर्न पाईदैन, ज्याला मार्न पाइदैन’ भन्दै सोमबार अन्तराष्ट्रिय मजदुर दिवस टीकापुरमा मनाइएको छ । अन्तराष्ट्रिय मजदुर दिवस मे १ तारिखका दिन विश्वभर मनाइने गरिएको छ । सो अवसरमा टीकापुरमा पनि मनाइएको हो । हात हातमा प्ले कार्ड बोकेर मजदुर शोषण गर्न पाईदैन, ज्याला मार्न पाइदैन, अन्तराष्ट्रिय मजदुर दिवस सफल पारौं लगायतका नारा सहित टीकापुर बजारको परिक्रमा गरिएको थियो । टीकापुर डकर्मी व्यवसायीक संगठनको आयोजनामा भएको कार्यक्रममा हजारौंको संख्या मा श्रमजिविहरुको सहभागिता रहेको थियो ।
टीकापुर स्थित पुरानो हाट बजारबाट शुरु भएको जुलुस बसपार्क, ईलाका प्रहरी कार्यालय हुँदै, टिकापुर बहुमुखी क्याम्पस पुल हुँदै पुरानो खानेपानी टंकी हुँदै पुनः पुरानो हाट बजार पुगेर सभा गरिएको थियो ।
टीकापुर डकर्मी व्यवसायीक संगठनका अध्यक्ष सुकदेव कुमार दास मुन्सीको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगर पालिकाका नगर प्रमुख रामलाल डंगौरा थारु रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थारुले श्रमिकको सम्मान गर्दै श्रम क्षेत्रमा विभेदको अन्त्य र श्रमिकको हकहितका लागि गम्भीरतापूर्वक लागि श्रमिकमैत्री वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले मजदुरको अधिकारका लागि नगरपालिका ले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा स्वागत मन्तव्य तेजु प्रसाद थारुले गरेका थिए भने संचालन पुरन चौधरीले गरेका थिए ।
टीकापुर डकर्मी व्यवसायी संगठनले टीकापुरमा मजदुरका क्षेत्रमा देखिने विविध समस्याको छलफल गरि समाधान गर्ने गरेको कार्यालय सचिव पुरन बहादुर सेट्ठीले जानकारी दिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सालमा मजदुर आन्दोलन सँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको छ ।