टीकापुर / धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सहित तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंह सहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजु जया देवी सिंह रहेकी छन् । गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता र भाउजु जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत्यु भएको घोषणा गरेका हुन् ।
स्थानीय बासिन्दाका अनुसार देउरा र बागथलाको सडक खण्डबाट करीव ५० मिटर तल खस्दा मन्त्री सिंह चढेको गाडी कच्याककुचुक भएको थियो । सुरक्षा स्रोतका अनुसार मन्त्री सहित तीनै जनाको घट्नास्थलमै मृत्यु भईसकेको थियो ।
धनगढीबाट मन्त्री सिंहसंगै उनका छोरा अभिषेक पनि साथीसंगै बझाङ गएका थिए । तर अभिषेक भने मन्त्रीको गाडीको पछाडि अर्को गाडीमा सवार थिए । स्कर्टिङमा रहेको प्रहरी र अर्को गाडीमा रहेका अभिषेक सहितको टोलीले दुर्घटनाग्रस्त गाडीबाट मन्त्री सहित सबै घाईतेहरुलाई निकालेका थिए ।