बटनपुर / सहकारी पहुँच नभएका किसानको सारथी भएको बताइएको छ ।
सो कुरा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले शनिबार टीकापुर ८ बटनपुर स्थित दिगो विकास बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारण सभाका प्रमुख अतिथिको आसन बाट बताएका हुन ।
टीकापुरको दक्षिणी क्षेत्रका बाढी बाट आक्रान्त किसानहरुका लागी यहाँका सहकारी बरदान सावित भएको नगर प्रमुख डगौराले बताए । दिगो विकास सहकारीले सामाजिक एकता ,भाईचारा रसदभाव र सहयोगको भावनाको विकास गर्दै समाज विकासमा टेवा दिएको बताएका थिए । कतिपय सहकारी पुँजी व्यवस्थापन ,उत्पादन ,बजारीकरणमा टेवा पुगाउँदै उदाहरणीय बनेको बताउँदै दिगो विकास सहकारीले पनि स्थानिय स्तरमा रोजगारीको अवसर सिर्जना गर्दै आफ्ना शेयर सदस्यको आर्थिक अवस्था बलियो बनाउन सफल भएको बताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि सहकारीका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर साउँदले बाढीको पीडा बाट आक्रान्त किसानलाई बैंकले नपत्याएको अवस्थामा सहकारी बाट किसानले लाभ लिएर सामाजिक र आर्थिक हैसियत सुधारेको बताएका थिए । सहकारी ले आफ्ना शेयर सदस्यलाई सेवा र पहुँच प्रदान गर्ने सिलसिलामा दिगो विकास सहकारी अगाडी रहेको बताए । सहकारीका अध्यक्ष गोविन्द कठायतले सहकारीको वार्षिक प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन व्यवस्थापक तारा साउँदले प्रस्तुत गरेका थिए भने कार्यक्रममा सामाजिक अगुवाहरु शेर बहादुर साउँद ,मिन बहादुर कठायत, पदमराज जोशी लगायतले मन्तव्य राखेका थिए । असल बचत कर्ता ४ जना असल ऋणी २ जना कक्षा ११ र १२ मा अध्ययनरत ४ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । वि.सं. २०६३ सालमा २५ जना संस्थापक शेयर सदस्य बाट सुरु भई सो सहकारीले साविक धनसिंहपुर र नारायणपुर क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर छरिएर रहेको पुँजीलाई एकत्रित गरि शेयर सदस्यहरुको आर्थिक जिवनस्तर उकास्न मदत गरेको देखिन्छ । ७५१ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ३९ लाख ९६ हजार ६ सय ४३ रुपैयाँ ४२ पैसा रहेको छ भने ४ करोड ७६ लाख ७६ रुपैयाँ ७७ पैसा ऋण लगानी गर्दै यस आर्थिक वर्षमा सहकारीले १६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ का लागी ९२ लाख ३७ हजार रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरिएको थियो भने १७औं वार्षिक साधारण सभा कार्यक्रमको संचालन सहकारीका सचिव रतन टमट्टाले गरेका थिए ।